केन्द्रीय समिति बैठक आरोप-प्रत्यारोप र कुण्ठा पोख्ने थलो बन्यो : शेखर कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलोमात्र बनेको टिप्पणी गरेका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले लामो समयपछि बसेको बैठकमा यस्ता गतिविधि देखिनु राम्रो लक्षण नभएको बताए ।
‘लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ’, उनले भने ।
केन्द्रीय सदस्य कोइरालाले कांग्रेसलाई विधान अनुसार चलाउन सभापति देउवालाई आग्रह गरे । ‘हामी सबै एउटा खेलको नियममा वाँधिएका छौँ र बाधिनुपर्छ । जसरी देश संविधानबाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानबाट अगाडि बढाउने परम्परा बसालौँ’, उनले भने, ‘हाम्रा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि बिधान अनुरुप अगाडि बढाउने काम गरौँ । बिधानले सबैले गर्ने काम तोकेको छ । हामी कतिले के-के गर्यौं मनन गरौँ ।’
नेता कोइरालाले अबिलम्ब महासमितिको बैठक बोलाउन पनि माग गरेका छन् । १४ औं महाधिवेशनपछि कांग्रेसले दस्ताबेज नल्याएको भन्दै उनले कांग्रेसमा विचारको खडेरीमा राख्न नहुने धारणा राखे । ‘नेपाली कांग्रेस बिचारले भरिएको पार्टी हो तर १४ औँ महाधिबेशन पछाडि यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन । अहिले पार्टीमा विचारको खडेरी छ । त्यसकारण बिधान अनुसार अबिलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्छ’ उनले भने ।
केन्द्रीय सदस्य कोइरालाले सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले विप्लव समूहलाई समेत समेटेर बनाएको समाजवादी मोर्चाका विषयमा कांग्रेसले छलफल गर्नुपर्ने बताए । ‘हामीहरुको गठबद्दधनभित्र पनि अर्को गठबन्धन बनेको छ त्यो कसको लागि बनेको हो हामीले त्यतातिर छलफल गर्नुपर्ने जरुरी छ’ उनले भने ।