देउवा र गगनको जुहारीमा शेखरलाई ‘बेनिफिट’
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति भर्सेस महामन्त्रीको माहौल देखिन्छ । बैठकको अन्तिम पङ्क्तिमा आसीन नेता शेखर कोइराला शान्तरुपमा सभापति र महामन्त्रीको पक्षमा चलेको जुहारी सूक्ष्म तवरले निकालिरहेका देखिन्छन् ।नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति भर्सेस महामन्त्रीको माहौल देखिन्छ । बैठकको अन्तिम पङ्क्तिमा आसीन नेता शेखर कोइराला शान्तरुपमा सभापति र महामन्त्रीको पक्षमा चलेको जुहारी सूक्ष्म तवरले निकालिरहेका देखिन्छन् ।
बैठकमा राष्ट्रिय राजनीति र जनजीविकाका सवाल छलफलको प्रधान विषय बन्न सकेन । बरु नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षमा रहेका नेता बालकृष्ण खाणको प्रतिरक्षा र प्रतिवादले बैठकमा प्रमुखता पायो । निर्वाचन प्रणाली परिवर्तन, पार्टीभित्र गुटबन्दी र चुनावी अन्तर्घातभन्दा बाहिर छलफल खासै जान सकेन ।
संस्थापन पक्षका अधिकांश सदस्य महामन्त्री थापामाथि खनिए । देउवाविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएर पार्टीलाई कमजोर बनाएको उनीहरूको आक्षेप लगाए ।
बैठकमा इतर पक्षबाट केन्द्रीय सदस्यबाट सभापति देउवामाथि विधानअनुसार पार्टी सञ्चालन नगरेको, सबैलाई नसमेटेको, संगठन र भ्रातृ संस्था लथालिङ्ग पारेको र ठुला भ्रष्टाचार काण्डमा मौन बसेको आरोप लाग्यो । इतर पक्षको नेतृत्व मानिने कोइरालामाथि भने संस्थापन पक्षका नेताहरूबाट सद्भाव प्रकट भयो ।
विगतमा पनि संस्थापन र इतर समूहका नाममा केन्द्रीय सदस्यको मत विभाजित हुन्थ्यो । अहिलेको बैठकमा पनि वाद–प्रतिवादको विषय सभापति र महामन्त्रीद्वय बने । तर संस्थापन पक्षका नेताहरूले इतर पक्षको नेतृत्व मानिएका शेखर कोइरालाप्रति कुनै टिप्पणी गरेका छैनन् ।
केन्द्रीय समिति बैठकअघि गुटगत बैठक नराखेकोमा संस्थापन पक्षीय नेताहरूले कोइरालालाई धन्यवाद दिएका छन् । बुधवारको बैठकमा केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीलाई एकताबद्ध बनाउन खोजेको भन्दै कोइरालालाई धन्यवाद दिएका थिए ।
‘म शेखर कोइरालालाई धन्यवाद दिन चाहन्छु । चुनावपछि उहाँले संयमको राजनीति गरेर पार्टीलाई एक ढिक्का बनाएर, अझै दह्रो बनाएर लैजान खोज्नुभएको छ,’ उनले भने, ‘गुटका कुरा होइन, पार्टी एक ढिक्का बनाउँछु भनेर गर्नुभएको पहलप्रति म उहाँलाई बधाई र धन्यवाद दिन चाहन्छु ।’
अन्य केन्द्रीय सदस्यले पनि कोइरालामाथि कुनै टिप्पणी गरेका छैनन् । बरु संस्थापन पक्षका नेताहरूको निशाना महामन्त्री गगन थापामाथि बढी छ ।
अर्का महामन्त्री विश्वप्रकाश शर्मामाथि कटाक्ष गर्ने पनि धेरै छन् । समग्रमा देउवा पक्षीय नेताहरू महामन्त्रीद्वयप्रति आक्रामक सुनिएका छन् । संस्थापन इतरमा शेखर कोइरालानिकट मानिने नेताहरूले पनि सभापति देउवाको चर्को आलोचना गरेको सुनियो । मन्त्री र भ्रातृ संस्थामा देउवा र कोइरालाबीच भएको सहमति सानेपाको बैठकमा पनि देखियो ।
संस्थापन इतर पक्षबाट जितेका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन पनि महामन्त्रीमाथि खनिए ।
संस्थापन इतर पक्षीय केन्द्रीय सदस्य मिनेन्द्र रिजाल, रुक्मिणि कोइराला, प्रतिमा गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, डा.चन्द्रमोहन यादव, मुक्ताकुमारी यादवले पनि सभापतिको कार्यशैलीमाथि प्रश्न उठाएको पाइएन । चन्द्रमोहन यादवले कोइरालालाई वरिष्ठ नेताको पद दिन सभापतिसमक्ष माग गरेका थिए भने रिजालले महामन्त्री थापालाई देउवासँग मिल्न सुझाव दिए । संसदीय दलको नेता बदल्ने कुरामा मन नडुलाउन थापालाई रिजालको सुझाव थियो ।
तर, संस्थापन इतर पक्षका अर्जुननरसिंह केसी, सञ्जय गौतम, अजयबाबु शिवाकोटी, प्रकाश रसाइली स्नेही, मधु आचार्य भने सभापति देउवामाथि प्रश्न उठाएका थिए । इतर पक्षका सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारको पनि सभापतिमाथि गुनासो सुनियो । तर, केन्द्रीय कार्यसमितिमा ८२ प्रतिशत होल्ड भएका देउवाको बैठकमा बलियो प्रतिरक्षा भइरहेको छ । केन्द्रीय सदस्यका साथै बाँकी ६ जना सहमहान्त्री पनि देउवाको प्रशंसा गर्ने प्रतिस्पर्धामा सामेल भए ।
आइतबार आफ्नो धारणा राखेका शेखर कोइरालाले पनि पार्टी नेतृत्वभन्दा सरकारमाथि बढी प्रश्न तेर्स्याए । बैठकमा १५ बुँदे सुझाव राखेका कोइरालाले बैठकमा चलेको आरोप–प्रत्यारोपप्रति विमति राखे । ‘लामो समयपछि बसेको केन्द्रीय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ,’ कोइरालाको भनाइ थियो ।
संस्थापन पक्षीय नेताहरूका अनुसार बैठकको प्रस्तुत हेर्दा कोइराला सभापति र महामन्त्रीसँग समदुरीको सम्बन्धनमा अगाडि बढ्न खोजेको देखिन्छ । ‘पार्टीसँग जोडिएका प्रश्न सभापतिसहित पदाधिकारीलाई राख्नु भएको छ । पार्टीको समस्या सभापति मात्रै हो भन्ने भन्ने गरी उहाँ प्रस्तुत हुनु भएन । एक वर्षपछि बैठक बस्ने अवस्था किन आयो भनेर सभापतिका साथै पदाधिकारीबाट पनि जवाफ खोज्नु भएको छ,’ देउवा पक्षीय एक नेताले भने । संस्थापन पक्षकै नेताहरू कोइरालाको स्टेटमेन्टले प्रतिवाद नभई जवाफ मात्र मागेको बताउँछन् ।
‘बैठकमा सभापति भर्सेस महामन्त्री बनिरहँदा कर्नरमा शेखर दाइ शान्त बसिरहनु भएको छ । यो बैठकमा उहाँलाई राजनीतिक बेनिफिट भइरहेको छ,’ ती नेताले भने ।
तर, इतर पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतम भने देउवाप्रति गगन र शेखरको बुझाइ एउटै रहेको दाबी गर्छन् । उनले भने, ‘बैठकमा हामी एकै भावका साथ प्रस्तुत भएका छौँ । गगनजी र शेखर डाक्टरसापबीचको बुझाइ एउटै छ । एउटै स्प्रीटमा बैठकमा प्रस्तुत हामी प्रस्तुत भइरहेका छौँ ।’
कोइरालाले यसपटक पार्टी र राष्ट्रिय राजनीतिबारे समूहको एक स्वर बनाउने प्रयत्न गरेको पाइएको थिएन । बैठकअघि उनले इतर पक्षीय केन्द्रीय सदस्यको बैठक राख्न समेत अनिच्छा देखाएका थिए । नेताहरूका अनुसार महामन्त्री थापा नेता कोइरालाको भूमिकाप्रति सन्तुष्ट छैनन् ।