लुम्बिनी प्रदेशमा लम्पी स्किनबाट १ लाख १८ हजार पशु सङ्क्रमित
लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट १ लाख १८ हजार पशु सङ्क्रमित भएका छन्। त्यस्तै, ५ हजार ८९ पशुको मृत्यु भएको छ । लुम्बिनी प्रदेश पशुपन्छी निर्देशनालय बुटवलका अनुसार ८८ हजार ९ सय ८४ सक्रिय सङ्क्रमित उपचार भैरहेको अवस्था छ । बाँकी निको भएका छन् ।
क्षति रोक्न प्रदेश सरकारले सबै जिल्लाका स्वस्थ्य पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरेको छ । अहिले प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालयले साउन ४ देखि सबै जिल्लामा खोप पठाएर लगाउन थालेको निर्देशनालयका निर्देशक डा.परबेज आलमले रातोपाटीलाई बताए ।
उनले अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्ला पठाएको बताउँदै अबको व्यवस्थापनको लागि ५ करोड रुपैयाँ माग गरिएको जनाए ।
लुम्बिनीमा लम्पी स्किनको प्रकोपले पछिल्लो तीन महिनामा किसानले करोडौँ रुपैयाँको नोक्सान व्योहोरेका छन् । डा.आलमका अनुसार पशुको मृत्यु उपचार खर्च, दूध उत्पादनमा कमी आएको कारणले एक करोड रुपैयाँको भन्दै धेरैको नोक्सान भएको अनुमान छ । तर, यसबारे यकिन नोक्सानको मूल्य अझै ननिकालिएको बताए ।