बालेनको निर्णय मान्नेलाई सास्ती नमान्नेलाई मस्ती !
बिहीबार साँझ पौने ७ बजे बाजुरा–अत्तरिया–काठमाडौँ चल्ने एउटा बस गोंगबुस्थित नयाँ बसपार्कभित्र रोकियो । उक्त बसबाट उत्रिएपछि यात्रुलाई सुरु भयो, गन्तव्यको अर्को तनाव । कसैलाई कलंकी जानु थियो त कसैलाई चाबहिल । केही यात्रु त भक्तपुरसम्म जानुपर्ने बताउँदै थिए । बसले काठमाडौँ महानगरपालिकाको निर्णय देखाउँदै पायक पर्ने ठाउँ भन्दापनि यात्रुलाई बसपार्कमै झारिदिएपछि उनीहरुको यात्रा झन्झटिलो भएको थियो ।
त्यतिमात्रै होइन, बस रोकिएको स्थानबाट सामानहरू ट्याक्सीसम्म लैजानका लागि बसपार्कमा निःशुल्क ट्रलीको समेत व्यवस्था थिएन । एउटा ट्रली प्रयोग गर्न १०० देखि १५० सम्म शुल्क तिर्नुपर्ने अवस्था थियो । ट्याक्सी प्रयोग गर्न नचाहनेहरूका लागि सार्वजनिक बससम्म पुग्न थप झन्झट छँदै थियो ।
यस्तै नियति बसपार्क भएर यात्रा गर्ने यात्रुहरुले दैनिक भोग्न बाध्य छन् । ‘हाम्रो बसपार्क राम्रो बसपार्क’ नारा दिएर लोत्से बहुउद्देश्यीय प्रालिले बसपार्क सञ्चालन गर्दै आएपनि यात्रु भने सास्ती भोग्न बाध्य बनेका हुन् ।
मेयर बालेन शाहको रुचिमा काठमाडौँ महानगरपालिकाले गत असार १ देखि बसपार्कको एकद्वार नीति लागू गरेको थियो । जसअनुसार बसपार्कबाट मात्रै उपत्यका बाहिरिने यातायातका साधन सञ्चालन गर्ने भनिएको थियो । तर, यो निर्णय पूर्ण कार्यान्वयन नहुँदा यात्रुलाई सुविधा भन्दा सास्ती बढेको छ ।
महानगरपालिकाको निर्णयअनुसार लोत्सेले बसपार्कभित्रै काउन्टर, पार्किङ र सशुल्क ट्रलीसमेत सञ्चालन गरेर रगजग गरिरहँदा महानगरपालिकाकै निर्णय भने प्रभावकारी हुन नसकेको हो । अहिले बसपार्कभित्र सेवा भन्दा व्यापार बढी देखिने भुक्तभोगीहरु बताउँछन् ।
महानगरपालिकाले गरेको निर्णय मान्नेले मानिरहेको र नमान्नेले उलङ्घन गरिरहेपनि त्यसको अनुगमन संयन्त्र त के महानगरपालिकाले नै छुट दिइरहेको छ । महानगरको निर्णय मान्नेहरुले बाजुरा–अत्तरिया–काठमाडौँ चल्ने बसले जस्तै अरु ठाउँमा यात्रु नझारी बसपार्कमै यात्रु उतार्ने गरेका छन् भने नमान्नेहरूले जथाभाबी यात्रु झारिरहेको अवस्था भएपनि कारबाही गर्ने कुनै संयन्त्र भने छैन ।
जसका कारण कतिपय अवस्थामा कलंकी हुँदै बसपार्क गइने भएपनि त्यहाँ यात्रुलाई ओर्लन नदिएर यातायात सञ्चालकले बसपार्कमै झारिदिने अवस्था रहेको एक यात्रुले बताए । ‘अहिले बसवालाहरुको मनपरी जस्तै छ । महानगरपालिकाको निर्णयलाई देखाएर कसैले बसपार्कमा मात्रै भनेर अन्त रोक्न मान्दैनन् । उनीहरुलाई मन लाग्यो भने फेरि जहाँसुकै पनि रोकिदिन्छन्’, एक यात्रुले भने, ‘महानगरको निर्णय नाम मात्रैको हुँदा यात्रुले सास्ती खेपिरहनु परेको अवस्था छ ।’ यस्तो समस्या लामो दूरीका यातायातका साधनमा धेरै रहेको बताइएको छ ।
यस्तै छोटा र मध्यम दुरीका अधिकांश यातायातका साधन भने अझै पनि बसपार्कसम्म जाने नै गरेका छैनन् । तर, उनीहरुले पनि महानगरपालिकालाई देखाउँदै पिक एन्ड ड्रपमा आफूखुसी भने गरिरहेकै छन् । जसको प्रत्यक्ष मारमा यात्रु नै पर्ने गरेका छन् ।
बालेनको निर्णय यतिबेला ‘मान्नेलाई सास्ती र नमान्नेलाई मस्ती’को अवस्था बनेको छ । यातायात व्यवसायीले महानगर देखाउँदै आफूअनुकुल यात्रु चढाउने र झार्ने गर्दा त्यसको मारमा यात्रु परेका हुन् । जसले निर्णय साँच्चै मानिरहेका छन् उनीहरुले बसपार्कमै यात्रु झारिदिन्छन्, जसले मानेका छैनन् उनीहरूले पनि आफूखुसी गरिरहेका छन् । यस्तै यात्रु चढाउनेको हकमा पनि उस्तै मनपरी छ, बसपार्कदेखि जहाँ त्यही चलिरहेकै छ ।