माधव नेपाललाई कार्यकर्ता जोगाउनै मुस्किल
नेकपाकालमा माधवकुमार नेपालले बिनासामर्थ्य अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष गरेका थिएनन्। पार्टीभित्रको अन्तरसंघर्षमा साथ दिन बलियो पंक्ति उनीसँग थियो।
एमालेको भृकुटीमण्डप (नवौं) महाधिवेशनमा ४४ मतले अध्यक्षमा पराजित भएका नेपालसँग स्थायी कमिटी पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा मात्र होइन जिल्ला र जनसंगठनमा पनि उत्तिकै पकड थियो।
उनको समूहबाट महासचिवमा उठेका सुरेन्द्र पाण्डे त झनै पाँच मतले मात्र पराजित भएका थिए।
माओवादी केन्द्रसँग एकता हुँदा पनि उनको पंक्ति तितरबितर भएको थिएन।
तर, २०७८ भदौमा पार्टी विभाजन हुँदा हिजोका ती सहयात्रीबाट नेपालले साथ पाएनन्।
नवौं महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य एमाले छोडेर नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा गएनन्।
विद्रोही कित्ता समातिरहेका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, रघुजी पन्त, अमृत बोहराबिना नै नेपालले नयाँ बाटो तताउनु पर्यो। संसद् विघटनविरूद्ध सडकमा पैताला बजार्नेहरूले विभाजनको आखिरी घडीमा एमाले संस्थापनसँग दस बुँदे सम्झौता गरे।
आधा शताब्दी रगत-पसिना सिञ्चिएको र आफैंले जग हालेर ठड्याएको पार्टी छाडेर हिँड्दा सारथि गुमाएका नेपाल अहिले नयाँ पार्टीका कार्यकर्ता पनि गुमाउने तहमा पुगेका छन्।
कार्यकर्ताको सांगठनिक टेको एकपछि अर्को गरी धर्मराउन थालेको छ। पार्टी, नेतृत्व र आन्दोलनप्रतिकै भरोसा भाँचिएको भन्दै उनीहरू पुरानै घरतिर पैताला सोझ्याउन थालेका हुन्।
माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको साथ लिएर मोर्चा बनाएर समाजवादी आन्दोलनलाई उचाइमा पुर्याउने सपना देखिरहँदा आफ्नै पार्टी-संगठनमा भने पहिरो व्यहोर्न परेको हो।
गत चैतयता सचिवालय सदस्य मुकुन्द न्यौपानेसहित चुणामणि जंगली, केदार न्यौपाने, भागवत विश्वासीले एकीकृत समाजवादीसँगको यात्रा टुंग्याएर एमाले फर्किइसकेका छन्।
केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्माले पनि समाजवादीमा भविष्य सुरक्षित देखेनन्।
पार्टी सुदृढीकरण अभियान चलिरहेकै अवधिमा दाङसहितका जिल्ला अध्यक्षहरू एमाले फर्किए।
पछिल्ला तीन दिनमै तनहुँ र रामेछापका जिल्ला अध्यक्षले एकीकृत समाजवादी पार्टीले औचित्य पुष्टि गर्न नसकेको निष्कर्ष निकाले।
साउन ५ गते तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्की एमालेमा फर्किए। साउन ७ गते रामेछापका जिल्ला अध्यक्ष रमेशकुमार बस्नेतले पनि एकीकृत समाजवादी त्याग्ने निष्कर्षमा पुगे। उनी आइतबार नै एमाले प्रवेश गरिसकेका छन्।
गठनको एक वर्षमै घर फर्कने अभियान सुरू
त्यसो त, पार्टी गठन भएको एक वर्ष नबित्दै एकीकृत समाजवादीका नेताहरू एमालेमा फर्किन सुरू गरिसकेका थिए।
अघिल्लो भदौमा तत्कालीन सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय तारा लामा तामाङ र कुलवीर चौधरी एमालेमा फर्किएका थिए।
तामाङले कञ्चनपुर-१ बाट टिकट पाएर चुनाव पनि जिते। उनी अहिले प्रतिनिधि सभा सदस्य छन्। २०७९ भदौमै लुम्बिनी प्रदेशका नेता तथा केन्द्रीय सदस्य बालकृष्ण चापागाईं एकीकृत समाजवादी त्यागेर एमालेमा फर्किएका थिए। सुदूरपश्चिम प्रदेशका सदस्य विक्रम शाही नेतृत्वको कार्यशैलीबाट रूष्ट रहेको संकेत दिँदै निष्क्रिय बसे।
त्यहीताका कर्णालीका प्रदेश कमिटी सदस्य गणेशबहादुर शाहीले पनि पुरानै घर फिर्तीको बाटो रोजे।
त्यही आसपास मधेस प्रदेशका अघिल्लो प्रदेश सभाका दुई सदस्य सुन्दर विश्वकर्मा र सीता गुरूङले एकीकृत समाजवादी छाडेका थिए। विश्वकर्मा बारा जिल्ला अध्यक्षसमेत थिए।
अघिल्लो भदौमा गुल्मी जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी, त्यतिबेलाका जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य गणेश खनालसहितका नेता एमालेमै फर्किएका थिए।
खनालसहितका नेता एमालेमै फर्कंदा गुल्मीमा समाजवादीले जरा फिँजाउनै सकेन। त्यही कारण गुल्मी-२ बाट एकीकृत समाजवादीका सचिव तथा पूर्वसहरी विकास मन्त्री रामकुमारी झाँक्री गत चुनावमा पराजित भइन्।