इन्जिनियर बालकृष्णको बयान– सेनाले पेट्रोलिङ गर्न मिल्नेगरी प्लानिङ गर्दिनु भन्ने प्रधानमन्त्रीको निर्देशन थियो
भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत ‘निर्माण सम्भार डिभिजन कार्यालय’का तत्कालीन सीडीई (सिनियर डिभिजनल इन्जिनियर) बालकृष्ण श्रेष्ठ प्रहरीको हिरासतमा छन् । उनी असार २६ मा पक्राउ परेका हुन् ।
ललिता निवासको सरकारी जग्गा ‘सरकारी लिखत किर्ते’ गरेर हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीबिरुद्ध अनुसन्धान गरिरहेको छ । इन्जिनियर श्रेष्ठ ‘ललिता निवास क्याम्प’ भित्र प्रधानमन्त्रीको निवास विस्तार र बाटो राख्ने गुरुयोजना तयार गर्ने मध्येका एक हुन् । भीआईपीको निवास विस्तार र ललिता निवास क्षेत्रमा बाटो विस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।
सोही आधारमा सीडीई बालकृष्ण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गतको निर्माण सम्भार डिभिजन कार्यालयमा रहँदा बालकृष्ण श्रेष्ठ समेतका इन्जिनियरले विशिष्ट व्यक्तिहरुको निवास विस्तार गर्ने र बाटो खुलाउने ‘गुरुयोजना’ बनाएका थिए ।२०६६ को अन्त्यतिर निर्माण सम्भार डिभिजन कार्यालयका डिभिजन प्रमुख सुरजराज राजकर्णिकार र इन्जिनियर बालकृष्णले तयार गरेको ‘गुरुयोजना’ तत्कालीन सचिव दीप बस्न्यातले तत्कालीन मन्त्री विजय गच्छदारकहाँ पेस गरे । सो प्र्रस्ताव राज्यमन्त्री संजय साह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा पेस गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालले आफू र डिभिजन प्रमुख सुरजराज राजकर्णिकारलाई बोलाएर ‘सेनाले पेट्रोलिङ गर्न समेत हुनेगरी बाटो राखी प्लानिङ गरिदिनु प¥यो’ भनेर मौखिक निर्देशन दिएको बयान इन्जिनियर बालकृष्ण श्रेष्ठले दिएका छन् ।
२०७८ पुसमा केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा इन्जिनियर बालकृष्ण श्रेष्ठले गरेको बयान मिसिलमा संलग्न गरिएको छ । त्यसबेला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन प्रहरीलाई नै फिर्ता गरेको थियो ।
तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको बोलावाटमा आफू र डिभिजन प्रमुख सुरजराज राजकर्णिकार २०६६ माघ–फागुनमा बालुवाटारमा ‘सल्लाह’को लागि गएको श्रेष्ठले बयानमा खुलाएका छन् । बयानमा उनले भनेका छन्– बोलावटमा सल्लाहको लागि प्रधानमन्त्री निवास पुगेको अवस्थामा प्रधानमन्त्री माधव कुमार नेपालले ‘प्रधानमन्त्री निवासको नजिक दक्षिणतर्फको सरकारी जग्गाहरु छरिएर रहेको छ, प्रधानमन्त्री निवास विस्तार गर्नु प¥यो । विस्तार गर्दा निजी जग्गा पनि नजिक रहेछ, प्रधानमन्त्री निवासको नजिकको निजी जग्गा सरकारले लिइ सोही बराबर दक्षिणतर्फको छरिएर रहेको सरकारी जग्गा निजी जग्गावालाई दिई सट्टापट्टा गर्नुप¥यो । यसमा भवन निर्माण तथा डिभिजन कार्यालयले सो विस्तार गर्ने काम र निवास वरपर सेनाले पेट्रोलिङ गर्ने समेत हुनेगरी बाटो राखी प्लानिङ गरिदिनु प¥यो’ भनि मौखिक निर्देशन गर्नुभयो ।
प्रधानमन्त्रीबाट मौखिक निर्देशन भएको केही समयपछि प्लानिङको लागि आवश्यक पर्ने अभिलेख तथा निर्णयहरु मुख्यसचिवको संयोजकत्वमा भूमि सुधार मन्त्रालय तथा भौतिक योजना तथा आवास मन्त्रालयका सविचहरुलाई काम गर्न आवश्यक सबै कागजातहरु राखी ‘प्लानिङ गर्नु’ भन्ने निर्णयसहित निर्देशन आएको उनले बताएका छन् ।
‘निर्णयसहित निर्देशन भएपछि भूमि सुधार मन्त्रालय, मालपोत कार्यालय, नापी कार्यालय, गुठी संस्थानबाट आवश्यक कागजातहरु मगाइ ती कार्यालयहरुबाट प्राप्त कागजातहरुको आधारमा जग्गा बढाउने र बाटो राख्ने समेतको प्लानिङ गरी इन्जिनियर राजेन्द्रमान श्रेष्ठले टिप्पणी उठाउनु भयो,’ इन्जिनियर श्रेष्ठले गरेको बयान कागजमा भनिएको छ, ‘सो टिप्पणीलाई चेक गरी डिभिजन प्रमुख सुरजराज राजकर्णिकार समक्ष मैले पेस गरेको थिएँ ।’
बालुवाटार क्षेत्रमा बाटो खुलाउने र भीआईपीहरुको निवास विस्तार गर्ने गुरुयोजना प्रस्ताव गर्दा मुख्यसचिव माधवप्रसाद घिमिरे थिए । २०६६ साउन २१ मा मुख्य सचिवको पदभार सम्हालेका घिमिरे पछि गृहमन्त्री पनि भए । सडक दुर्घटनामा परेर त्रिशुलीमा बेपत्ता भएका घिमिरेको अवस्था अझै अज्ञात छ ।
मुख्यसचिवले स्पष्ट लिखित निर्देशन गरेपछि निर्माण सम्भार डिभिजन कार्यालयमा विभागबाट निर्देशन आएपछि भूमि सुधार मन्त्रालयका मातहतका कार्यालयहरुबाट सरकारी जग्गा तथा मोहीहरुको विवरण पठाउन पत्राचार गरेको श्रेष्ठले बयानमा खुलाएका छन् ।
मुख्यसचिव र विभागले गरेको निर्देशनको सक्कल फाइल ‘सुरक्षित’ रहेको इन्जिनियर श्रेष्ठले बयानमा उल्लेख गरेका छन् । बयानमा उनले भनेका छन्, ‘उक्त निर्देशनको पत्र सक्कल फाइलमा सुरक्षित हुनुपर्छ ।’