गौर घटना प्रकरणमा माओवादीले किन दियो उपेन्द्र यादवलाई साथ ?
२०६३ चैत ७ गते रौतहटको गौर बजारमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी कार्यकर्ताबीच झडप हुँदा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो । त्यसमा ११५ जना घाइते भएका थिए । उक्त घटनालाई ‘गौर हत्या काण्ड’ को रुपमा चिनिन्छ ।
‘गौर हत्या काण्ड’ भएको १७ वर्ष पुग्दासमेत घटनाका दोषीलाई कारबाही भएको छैन । वर्षौं बित्दा पनि दोषीमाथि कारबाही नहुँदा पीडितले न्यायको अनुभूति गर्न सकेका छैनन् । उनीहरुले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएका छन् ।
पीडितहरुले गौर हत्याकाण्ड पीडित संघर्ष समिति नै गठन गरेर ध्यानाकर्षण गराउँदै आएका छन् । संघर्ष समितिले साउन १ गते गौरमा वृहत् प्रदर्शन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । संघर्ष समितिले गौर हत्या काण्डमा मुख्य दोषी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको दाबी गर्दै आएको छ । यादव त्यतिबेला मधेसी जनअधिकार फोरमका अध्यक्ष थिए ।
यसरी पीडित संघर्ष समितिले अध्यक्ष यादवमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेपछि जसपा नेपालका नेता तथा कार्यकर्ताहरुले विरोध गरेका थिए । मंगलबार सत्ता गठबन्धनमा रहेका दलहरुले पनि गौरमा प्रदर्शन गरी आम जनता पार्टीका अध्यक्ष प्रभु साहमाथि कारबाहीको माग गरेका छन् । अध्यक्ष साहले काशीनाथ तिवारीलगायतका व्यक्तिको हत्या गरेको उनीहरुको आरोप छ ।
यसरी गौर घटनालाई लिएर गौरमा यतिखेर आम जनता पार्टीका अध्यक्ष प्रभु साह र जसपाका अध्यक्ष उपेन्द्र यादव आमनेसामने भएका छन् । उपेन्द्र यादवलाई यतिखेर माओवादी केन्द्रका नेताहरुले पनि साथ दिएका छन् । जबकि सो घटनामा मारिएका सबै माओवादीका नेता तथा कार्यकर्ता हुन् ।