६ प्रदेशको अधिवेशन एमालेले तोक्यो
नेकपा (एमाले)ले ६ वटा प्रदेशको अधिवेशन मिति तोकेको छ।
पार्टी संगठन विभाग काशिनाथ अधिकारीकाअनुसार असोज १५ गतेभित्र अधिवेशन गरिसक्ने गरी मिति तय भएको छ।
गण्डकी प्रदेशकाे मात्रै अधिवेशनको मिति तोक्न बाँकी रहेको एमालेले बताएको छ।
कोशी प्रदेश कमिटीले आगामी असोज १२ र १३ गते अधिवेशन गर्ने गरी मिति तय गरेको अधिकारीले बताए।
मधेश प्रदेश कमिटीले असोजको ५ र ६ गते अधिवेशनको तयारी गरेका छन्। वाग्मती प्रदेशले ८ र ९ गते अधिवेशन गर्ने गरी मिति घोषणा गरेका छन्।
कर्णाली प्रदेशले भदौको २९ र ३० गते र सुदूरपश्चिमले भदौको २२ र २३ गते गर्ने गरी मिति टुंगो लागेको अधिकारीले जानकारी दिए।
लुम्बिनीको भदौ १६ र १७ गते अधिवेशन गर्ने मिति तय भएको प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी दिइन्।
‘राधाकृष्ण कँडेलको नेतृत्वमा मूल कमिटी र अरू उपसमिति बनाएर अधिवेशनको तयारी भइरहेको छ। यसैबीच हामीले साउन १३ र १४ गते नेपालगञ्जमा जनप्रतिनिधिहरूको प्रशिक्षण राखेका छौं,’ उनले भनिन्।
गण्डकीको प्रदेश अधिवेशनको मिति तय हुन बाँकी रहेको त्यस प्रदेशका इन्चार्ज गोकर्ण विष्टले जानकारी दिए।
‘साउन २२ गते प्रदेश कमिटीको बैठक राखेका छौं, त्यही बैठकले अधिवेशनको मिति तय गर्ने छ,’ उनले भने।