कांग्रेस केन्द्रीय समिति बैठक : सच्चिनेभन्दा पनि गुटकै लफडा
विश्व राजनीतिक रङ्गमञ्चमा उज्ज्वल छवि बनाउन सफल बीपी कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा हुन् । २०३९ साउन ६ गते देहत्याग गरेका तिनै अथक योद्धा बीपीको स्मृति दिवसको सम्झनामा यहाँ केही शब्द कोर्दै गर्दा उनले स्थापना गरेको पार्टी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ ।
आफ्नो जीवनकालमा लामो समय प्रवास तथा राजा महेन्द्रको ‘कु’पश्चात् आठ वर्ष सुन्दरीजल जेलमा राखिएका बीपीले खुला राजनीतिमा भने जम्माजम्मी १६ वर्ष मात्र बिताए । एकतन्त्रीय राणाशासनविरुद्ध संघर्ष गर्न बीपीकै अगुवाइमा २००६ सालमा नेपाली कांग्रेसको एकतासहितको पार्टी स्थापना भएको थियो । राजनीतिक रूपले सङ्गीन घडीमा पार्टी स्थापना गरी बीपीले नेपाली कांग्रेसलाई मूलतः ‘आर्थिक र सामाजिक’ धरातलसँग जोडेका थिए । आज कांग्रेस शेरबहादुर देउवाको तहसम्म आइपुग्दा ‘पद, पैसा र प्रतिष्ठा’ आर्जनका लागि कांग्रेस पार्टीलाई नै यति दाउमा राखियो कि यो पार्टी ‘राष्ट्रिय आवश्यकता’का बारे बोल्नै नसक्ने अवस्थामा पुग्यो !
शक्ति र सत्ताका निम्ति आफ्नो ऐतिहासिक विरासतसहितको धरातल मात्र नभई ‘विचार र सिद्धान्त’ समेत भुल्न पुगेको कांग्रेस यतिबेला विभाग तथा भ्रातृ एवं शुभेच्छुक संगठनलाई पूर्णता दिन समेत नसक्ने अवस्थामा पुगेको छ । मञ्च पायो कि बीपी कोइरालाकै भनाइ दोहो¥याउन पुग्ने कांग्रेसजनको बोली र आजको कांग्रेस नेतृत्वको व्यवहारमा पटक्कै ‘तादात्म्यता’ देखिन्न । पार्टीलाई परिवर्तनको धारमा लैजान खोज्ने गगनकुमार थापा र विश्वप्रकाश शर्मा नै पार्टी संस्थापन पक्षधरहरूको चौतर्फी आक्रमणको सिकार बनाइँदै छन् ।
हुन त पार्टीमा ‘पुराना र नयाँ’ पुस्ताबीच सङ्घर्ष स्वाभाविक प्रक्रिया हो । वैचारिक रूपमा समेत प्रौढ भएका पार्टीका नेताहरू आफूलाई ‘परिवर्तन’को धारमा उभ्याउन तयार हुन्नन् भने नयाँ पुस्ताका प्रतिनिधिमूलक नेताहरूले आफूसँगै पार्टीलाई ‘परिवर्तन’को धारमा नउभ्याई सुखै छैन । यही दोहोरो ‘रस्साकस्सी’का बीच चल्दै छ, कांग्रेस केन्द्रीय समितिको बैठक ।
हिजो बीपीले मौलिक, सुन्दर तथा सिर्जनात्मक समाजको चित्र पेस गरेका थिए । बीपीमा समाजको चेत बुझ्न सक्ने अद्भुत क्षमता थियो । आजको कांग्रेस नेतृत्वमा पार्टीलाई ‘कोमिङताङ’ बनाउने लक्ष्यबाहेक केही भेटिन्न । कांग्रेस नेतृत्व भेटिन्छ त केवल वाइड बडी, नक्कली शरणार्थी प्रकरण तथा सडकको ठेक्का र स्टक एक्सचेन्जका लाइसेन्स जारी प्रकरणमा । प्रत्यक्ष प्रसारणसहितको कांग्रेस केन्द्रीय समिति बैठकमा कांग्रेस जनताका पक्षमा भेटिने अपेक्षा थियो, तर त्यहाँ पनि पार्टीको वडा समितिको बैठकमा झैँ ‘खुद्रे’ कुरा गरेर समय व्यतीत गर्ने कांग्रेस मात्र भेटियो !