विप्लवको महाविचलन
‘द्वन्द्वात्मक भौतिकवाद अपुरो भइसक्यो, यसले समाजवाद दियो तर रक्षा गर्न सकेन । यो आर्थिक प्रश्न मात्रै होइन, दार्शनिक प्रश्न पनि हो । यो राजनीतिक मामिला मात्रै होइन, कम्युनिस्ट आन्दोलनमा आएको दर्शनको समस्या हो ।’
यो भनाइ हो नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको । पुष्पलाल स्मृति दिवसका दिन आइतबार नेपाल एकेडेमीमा बोल्ने क्रममा उनले यी शब्दहरु राखेका हुन् ।
आफ्नै नवीन निष्कर्षसँग अझ उत्साहित हुँदै उनी भन्छन्, ‘द्वन्द्वात्मक भौतिकवादको कुनै नियम काम लाग्दैन । त्यो एकमा दुई विभाजन भन्ने नियम पनि काम लाग्दैन । निषेधको निषेध भन्ने नियम पनि काम लाग्दैन । समाजले त्यसलाई अस्वीकार गरिसक्यो र … ।’
सही गलतको विवेचना छुट्टै कुरा हो तर कम्युनिज्मको कखरा मात्रै पढेकाले पनि बुझेका छन्, द्वन्द्वात्मक भौतिकवाद भनेको मार्क्सवादको चुरो कुरो हो । यो छ त मार्क्सवाद छ, यो छैन त मार्क्सवाद छैन ।
माओवादीका वैचारिक गुरु भनेर चिनिएका नेता मोहन वैद्य किरणको विचारमा मार्क्सवाद भनेको द्वन्द्वात्मक भौतिकवाद हो ।
एकीकृत जनक्रान्तिको नारा दिएर विद्रोहमा उत्रिएका विप्लव पछिल्लो समय समाजवादी मोर्चा हुँदै शान्तिपूर्ण राजनीतिलाई रफ्तार दिन खोजिरहेका छन् । कुनैबेला प्रचण्ड संशोधनवादी भासमा जान थालेको आरोप लगाउँदै उनले ‘महापतन’ पुस्तक नै लेखे ।
उक्त पुस्तकको सार हो- ‘हिजो प्रचण्ड-बाबुरामले क्रान्तिका नाममा थालनी गरेको जनयुद्धमा त्यत्रो बलिदान गराए, जसका विरुद्ध लडे आखिर उनीहरूकै सामु आत्मसमर्पण गरे र वैचारिक-राजनीतिक रूपमा पतन भए ।’
माओवादीका शीर्ष नेताहरुको यही राजनीतिक बदलावलाई उनले ‘महापतन’को नाम दिए ।
पुस्तकमा उनले लेखेका छन्, ‘प्रचण्ड आफ्नो विचलनको पराकाष्ठामा पुगेर एमालेसँग एकता गरेर जीवन धान्नेमा पुगेका छन् ।’ हिजो प्रचण्डविरुद्ध यति कडा अभिव्यक्ति दिएका विप्लव आजकल प्रचण्डको प्रसंशामा समय बिताइरहेका छन् ।
यतिसम्म कि उनी पार्टी कार्यालयमा कम्युनिष्ट नामको बोर्ड झुन्ड्याएर द्वन्द्वात्मक भौतिकवाद काम छैन भन्ने अवस्थामा आइपुगेका छन् । यससँगै उनीमाथि प्रश्न उठेको छ, ‘कतै विप्लव पनि हिजो अरूमाथि प्रश्न उठाएजस्तै जीवन धान्न यतिधेरै सैद्धान्तिक क्रमभंग त गरिरहेका छैनन् ।’ कम्युनिष्टहरूकै भाषाशैली सापट लिएर भन्दा यति ठूलो विचलन विप्लवमा किन देखापरिरहेको छ भन्ने प्रश्न जन्मिएको छ ।
राजनीतिक विश्लेषक झलक सुवेदी विप्लवको यो भनाइलाई वैचारिक टाट पल्टाइको संज्ञा दिन्छन् । ‘समाजवाद केवल राजनीतिक आर्थिक व्यवस्था मात्रै नभई ऐतिहासिक सांस्कृतिक धारणा पनि हो,’ उनी भन्छन्, ‘उत्पादन सम्बन्ध, साधन आदिका सैद्धान्तिक प्रस्तावनालाई अस्वीकार गर्ने गरी विप्लवले बोल्नु अनौठो छ, यो विप्लवको वैचारिक टाट पल्टाइ हो ।’
हुन पनि विप्वल कहिल्यै थिरमा देखिंदैनन् । आफ्नो राजनीतिक करिअरमा उनी उग्रवादी कम्युनिष्ट प्रतीत हुन्छन् । साम्यवादी बाटोमा पार्टी गएन भनेर पुनः हिंसात्मक विद्रोह सुरु गरेका विप्लवमा मनोवैज्ञानिक अधीरता देख्छन् राजनीतिक विश्लेषक डम्बर खतिवडा ।
‘विप्लव कुनै वैचारिक स्थिरता नभएको जस्ता देखिन्छन्’ उनी भन्छन्, ‘वास्तवमा द्वन्द्वात्मक भौतिकवाद नमान्नेहरू साम्यवादी मार्क्सवादीहरू हुन सक्दैनन् । साम्यवादको विचार मार्क्सभन्दा बाहिर गएर लागू गर्ने भन्ने हुँदैन ।’
खतिवडाको विचारमा अर्को प्रचण्ड बन्ने रहरमा विप्लव मार्क्सकै शब्दमा प्रहसनका रूपमा देखिएका छन् । कार्ल मार्क्स इतिहासको पुनरावृत्तिको कुरा गर्थे । उनका अनुसार इतिहासको पहिलो आवृत्ति त्रासदी हो भने पुनरावृत्ति चाहिँ प्रहसन हो।
‘विप्लवले अर्को प्रचण्ड हुने रहर गरे । प्रचण्ड ट्राजेडी भए भने विप्लव चाहिं प्रहसन बने,’ खतिवडा भन्छन् ।