एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै
नेकपा (एकीकृत समाजवादी)को एक सातादेखि जारी बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे कीर्तिपुर, चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बस्ने छ।
आज बैठक सक्ने तयारी रहेको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
बिहीबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिएका थिए।
आजको बैठकले महाधिवेशन, पार्टीको आगामी कार्यदिशा, केही रिक्त पदको पूर्ति र जिम्मेवारी हेरफेरको निर्णय गर्ने बताइएको छ। एकीकृत समाजवादीमा बागमती र लुम्बिनी प्रदेश इन्चार्ज रिक्त रहेको छ।
बिहीबार राजनीतिक विषयवस्तुमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष नेपालले माघमा महाधिवेशन गर्न प्रस्ताव गरेका थिए।
‘कसैले फागुन २१ गते गर्नुपर्ने बताएका थिए। केहीले मंसिरमै गरौं र पार्टीलाई थप क्रियाशील बनाऔं भनेका थिए,’ पाण्डेले सेतोपाटीसँग भने, ‘अध्यक्षले भने माघमा गर्ने प्रस्ताव गर्नुभएको छ।’
२०७८ भदौमा एमालेबाट विभाजन भएर गठन भएको एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गर्न लागेको हो।
जारी सचिवालय बैठकमा आगामी निर्वाचन एक्लै लड्नुपर्ने धारणा सदस्यहरूले राखेको उपाध्यक्ष पाण्डेले बताए।
‘यो निर्वाचनमा सबै ठाउँमा उम्मेदवारी दिन सकेको भए राष्ट्रिय पार्टी बन्ने अवस्था आउँथ्यो। त्यस्तो परिस्थिति नबन्दा भोट घट्यो। आगामी निर्वाचनमा एक्लै लड्ने गरी मनस्थिति बनाउनुपर्छ भन्ने धेरैको धारणा छ,’ उनले भने।
गत मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको मर्म र भावना आत्मसात हुन नसकेको धेरै सदस्यको बुझाइ रहेको पाण्डेको भनाइ थियो।