एसेस शृङ्खला वर्षाले बिथोलिएपछि टेस्ट क्रिकेटमा ‘रिजर्भ डे’को चर्चा
इङ्गल्यान्ड र अस्ट्रेलियाबीचको परम्परागत टेस्ट क्रिकेट शृङ्खला चलिरहेको छ । विश्व क्रिकेटमा एसेस शृङ्खलालाई निकै महत्वका साथ हेरिन्छ । एसेस शृङ्खलाको चौथो खेल बराबरीमा सकिएपछि इङ्गल्यान्डका समर्थकहरू निराश छन् ।अहिले पाँच टेस्टको एसेस शृङ्खलामा अस्ट्रेलिया २—१ ले अगाडि छ । शृङ्खलाको पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । तेस्रो टेस्ट इङ्गल्यान्डले जितेको थियो । चौथो टेस्ट भने अनीर्णित रूपमा सकिएको थियो ।
खासमा चौथो टेस्टमा इङ्गल्यान्ड निकै बलियो अवस्थामा थियो । अस्ट्रेलिया पहिलो पालीमा तीन सय १७ रनमा समेटिएको थियो । इङ्गल्यान्डले भने पहिलो पालीमा पाँच सय ९२ रनको विशाल स्कोर तयार पारेको थियो । दोस्रो पाली खेल्न आएको अस्ट्रेलियाले पाँच विकेट गुमाएर दुई सय १४ रन बनाएपछि वर्षाका कारण खेल अवरुद्ध हुन पुगेको थियो ।
वर्षाका कारण पाँचौँ तथा अन्तिम दिनको खेल पूर्णरुपमा अवरुद्ध हुन पुग्यो । सोही कारणले अत्यन्तै बलियो स्थितिमा भएर पनि घरेलु टोली इङ्गल्यान्डले सफलता हात पार्न सकेन । वर्षाका कारण खेल बिथोलिएपछि शृङ्खला बराबरी गर्ने इङ्गल्यान्डको सपना चकनाचुर हुन पुग्यो । स्वाभाविक रूपमा घरेलु समर्थकहरू निराश बन्न पुगे ।
शृङ्खलाको पाँचौँ तथा अन्तिम टेस्ट आगामी बिहीबार दी ओभलमा सुरु हुनेछ । तर, वर्षाका कारण अन्तिम टेस्ट अगावै इङ्गल्यान्डको शृङ्खला जित्ने सपना भने समाप्त भइसकेको छ । अब अन्तिम टेस्टमा जित हात पार्दै शृङ्खला बराबरीमा टुङ्ग्याउने धुनमा छ, इङ्गल्यान्ड ।
म्यानचेस्टर टेस्ट (चौथो टेस्ट) बराबरीमा सकिएको दुई दिनपछि अहिले मौसममा सुधार आएको छ । तर, अहिले इङ्गल्यान्डका समर्थकसँग चुकचुकाउनुको विकल्प छैन । परम्परागत एसेस शृङ्खलालाई विश्व क्रिकेटका पारखीहरूले निकै चासोको साथ हेर्ने गरेका छन् । त्यसैले पनि चौथो टेस्ट वर्षाका कारण बिथोलिएपछि क्रिकेट समर्थकहरू वर्षाले खेल बिथोल्ने परिस्थितिको विकल्प खोजिनु पर्ने पक्षमा तर्क—वितर्क गर्न थालेका छन् ।
आखिर, वर्षाका कारण टेस्ट क्रिकेट प्रभावित हुन्छ भने त्यसको विकल्प किन खोजिँदैन त ? किन टेस्ट क्रिकेटमा रिजर्भ डे राखिँदैन ? टेस्ट क्रिकेट छानासहितको बन्द रङ्गशालामा खेलाउने वातावरण किन बनाइँदैन ? निरन्तर प्रश्नहरू ओइरिन थालेका छन् ।
वर्षाका कारण एसेस शृङ्खला बिथोलिएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०१३ मा ओल्ड ट्राफोर्डमा खेलिएको एसेस टेस्टमा पनि यस्तै परिस्थिति सृजना भएको थियो । निरन्तर टेस्ट क्रिकेटमा वर्षा बाधक बनेपछि यस विषयमा खेलाडी र समर्थकहरूले चासो देखाउनु पनि स्वाभाविक हो ।