दलका कर्मकाण्डी बैठक : सिद्धान्त र आदर्श भुलेर तितो पोख्ने थलो
सिद्धान्त र विधान एकातिर व्यवहार अर्कोतिर, यो आजकल नेपाली राजनीतिको दिनचर्या बनेको छ । संघीय राज्य संरचना संचालन गर्ने राजनैतिक दल, कर्मचारी तन्त्र र न्यायपालिका एकात्मक हुँदा पैदा हुने अन्तरविरोधबाट नेपाली समाज ग्रसित छ । राजनीतिक दल र समाजमा बग्रेल्ती समस्या छन् तर दल नेता र बैठकहरू बेखबर देखिन्छन् ।
लोकतन्त्र र समाजवादका लागि पुरानो पार्टी नेपाली कांग्रेसको राजनैतिक, वैचारिक उद्देश्य नेपाली समाजको आर्थिक, सामाजिक रूपान्तरण गर्ने हो । कांग्रेस स्थापनाको एक दशकमै संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र मान्ने भइसकेको थियो । २०४७ सालदेखि यता कांग्रेस नवउदारवादी पूँजीवादी पार्टीमा बदलियो । अब त यो मास पार्टीबाट क्याडर-बेस पार्टीमा बदलिंदैछ ।
संसदको सबैभन्दा ठूलो पार्टीका रूपमा कांग्रेसले सबैभन्दा बढी लेवी असुल्छ । लोकतन्त्रको मसिहा ठान्ने पार्टी नेपाली कांग्रेस बहु पदीय छ । प्यानल बनाएर पार्टीको निर्वाचन सम्पन्न गरेको छ । सभापतिमा तीन चौथाइ मत परेको छ । कार्यकारी पदका रूपमा रहेका महामन्त्री दुवैजना भिन्न प्यानलबाट विजयी भएका छन् । पार्टीको संरचनाका हिसाबले सभापतिले जे चाहृयो त्यही हुने अवस्था छ । बैठक आयोजना गरेमा तोकिएको समय भित्र जे पनि बोल्न पाइने पार्टीका रूपमा आफूलाई स्थापित गरेको छ ।
विगत ७५ वर्षमा पञ्चायतका ३० वर्ष छाडेर यो पार्टी कुनै न कुनै रूपमा सत्तामा छ । राणासँग लडेर इतिहास रचेको कांग्रेसले पञ्चायत र राजासँग कहिले सम्झौता कहिले संघर्षमा बितायो । अन्तिम खण्डमा राजासँगको सम्झौताहीन संघर्षको परिणाम नेपालमा गणतन्त्र वहाल भएको छ ।
त्यस्तो इतिहास बोकेको पार्टीको यति बेला केन्द्रीय समितिको बैठक जारी छ । बैठकमा प्रस्तुत भएको प्रतिवेदन गैरसरकारी संस्थाको ‘विस-लिस्ट’ जस्तो भयो भनेर केन्द्रीय सदस्यले नै टिप्पणी गरेका छन् । कांग्रेसको बैठकले सुस्ताएको नेपाली राजनीतिमा कुनै आशा जगाउने छाँट देखिएको छैन ।
संसदको दोस्रो पार्टी नेकपा एमालेले दस्तावेजमा पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद राखेको छ । संसदीय प्रणालीका अधीनमा समाजवाद उन्मुख अर्थतन्त्र उसको ध्येय हो । आजभन्दा झन्डै तीस वर्ष अघि मदन भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवाद नै उसको पार्टीको आधिकारिक विचार बन्न पुगेको छ ।
आज मदन भण्डारी छैनन् । उनको अनुपस्थितिमा एमाले जबज देखाएर अध्यक्ष केपी ओलीको विचार, चिन्तन र लहडमा हुँइकिइरहेको छ । केही महिना मिसन ग्रासरुट चलाएको एमाले यति बेला स्कुलिङमा व्यस्त छ ।
तुलनात्मक रूपमा व्यवस्थित संगठनको पहिचान बनाएको यो पार्टी सदस्यता नवीकरण हृवात्तै घटेपछि चिन्ताले पिरोलिएको छ । पार्टी बैठक आयोजना भयो भने पार्टी अध्यक्षको घण्टौं लामो भाषण त्यो पनि अरू पार्टीहरूलाई उछित्तो काढ्ने गरी गाली र उखान टुक्कामा सीमित रहन्छ । देश, समाज र विश्वको विश्लेषण र अबको बाटोका बारेमा मौन रहन्छ ।
तेस्रो पार्टीको माओवादीले मार्गदर्शक सिद्धान्तका रूपमा मालेमावादलाई राखेको छ । जनवादी क्रान्तिका माध्यमबाट प्रतिक्रियावादी राज्यसत्ता ध्वंस गरी जनवादी राज्यसत्ता स्थापना गर्नका लागि दश वर्ष लामो युद्ध हाँकेको यो पार्टीको पहलकदमीमा नेपाल संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता प्राप्त गरेपछि सन्तोषको सास फेरेको छ ।
आर्थिक, सामाजिक रूपान्तरण सहितको राज्यको अग्रगामी पुनर्संरचना लगायतका क्रान्तिकारी एजेन्डाहरू माओवादीमा सुनिन छाडेका छन् । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद जस्ता चर्का नाराहरू सत्तारोहणसँगै ओझेल परेका छन् । युद्धको तयारी, जनविद्रोह र शान्ति प्रक्रियाको समेत नेतृत्व गरेका प्रचण्ड अब सुशासनको नेतृत्वका लागि अघि बढेको सन्देश सहित सो पार्टीको नेतृत्वमा छन् । विगत ३० वर्षदेखि लगातार पार्टीको नेतृत्व गरेका प्रचण्ड अहिले तेस्रो पटक देशकै नेतृत्व गर्दैछन् ।