नेताजीहरू हो ! साहित्यमा आउनुस्, स्वागत छ !
कार्यक्रम थियो चिजकुमार श्रेष्ठको पुस्तक विमोचन । प्रमुख अतिथि थिए कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा । कुरा किताबको थियो । आवरण साहित्यको तर पूर्ण राजनैतिक कार्यक्रम । यसो हुनुको कारणः चिजकुमार श्रेष्ठ पुराना राजनीतिकर्मी हुन् । उनले २०४८ र २०५१ मा दुई पटक कांग्रेसको चुनावी टिकट पाए । दुवै पटक पराजित भए ।
२०३७ सालमा जनमतसङ्ग्रह हुँदा बहुदलको प्रचारप्रसारका निम्ति गठित जिल्ला समिति धादिङका उनी संयोजक थिए । उनैले अगुवाइ गरेर बीपी कोइराला र गणेशमान सिंहलाई धादिङ पुर्याए र कुनै दिन गिरिजाप्रसाद कोइरालालाई नुवाकोटबाट धादिङको विकट बस्ती किन्ताङ हुँदै हिंडाएर धादिङबेंसी ल्याए र ट्याक्टर चढाएर मलेखु ओराले ।
धेरैलाई कांग्रेस बनाए तर आफैंले बनाएको कांग्रेस उनी आफैंलाई काम लागेन, उनले दुई पटक चुनाव हारे । उनको किताबमा अधिकांश यही र यिनै कथा छन् । यो उनको आत्मसंस्मरणात्मक आलेखन हो । यो कार्यक्रम काठमाडौंको थियो ।
अब अरू दुई कार्यक्रमको समेत प्रसङ्ग जोडौं ।
केही दिनअघि चितवनमा यस्तै एउटा विमोचन कार्यक्रम थियो । लेखक कैलाश कोइराला र उनको पुस्तक राजव्यूह । यो उपन्यास हो । विमोचनको मञ्च राजनीतिकर्मीहरूले भरिभराउ थियो । कोइराला आफैं राजनीतिकर्मी । चितवन कांग्रेसको पूर्व उपसभापति र अहिले बागमती प्रदेशका एक नेता ।
झण्डै दशक लामो कीर्तिपुर बसाइ र त्यहाँ लामो समय नेवि संघ एकाइको सभापति । अघिल्लो अधिवेशनमा चितवन कांगे्रसको सभापति पदको प्रत्यासी र पराजित । राजनीतिमा गहिरो हुटहुटी र निकास नदेखिए नदेखिए जस्तो । उनीभित्र दार्शनिक चेत र अध्ययनको आधार भने अलि बढी नै देखिने ।
उनले उपन्यास लेखे । त्यही उपन्यासको विमोचन कार्यक्रम । त्यहाँ साहित्य कम, राजनैतिक चर्चा अलि बढी । चितवनका सबै पार्टीका ‘भेट्रान’ भनिएकाहरू र प्रदेशका सांसद र मन्त्रीको समेत उपस्थिति । त्यसैका लागि मकवानपुरदेखि इन्द्र बानियाँ समेत आएका । उनी पनि किताबमै शीतलता खोज्दैछन् कि जस्तो ।
नेताहरूले वचनको पालना गरेको भए अघिल्लो प्रदेश संसदबाटै बानियाँ मुख्यमन्त्री हुन्थे र उनैका अनुसार उनले टिकट दिएर सघाएकाहरूले मात्रै सघाइदिएको भए उनी पनि बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता हुन्थे । यसो हुनु भनेको वैटिङ मुख्यमन्त्री तर त्यसो हुन सकेन ।
उनले नदेखाए पनि उनी भित्री तहमा एक प्रकारको आहत बोकेरै विमोचनमा मिसिन आएका थिए कि जस्तो लाग्ने । विमोचन समारोहको संयोजन गरिरहेका सम्पूर्ण किताबका लेखराम सापकोटाले पहिल्यै खुसुक्क भनेका थिए, ‘यो साहित्यिक कार्यक्रम हो तर नेताहरूको बाक्लो उपस्थिति हुनेछ । तपाईंले अलि लामै र साहित्यिक कुरा गर्नुपर्नेछ ।’
भयो पनि त्यस्तै । समालोचक उदय अधिकारीबाहेक सबै वक्ता राजनीतिकर्मी ।
लेखक कैलाश कोइरालाजी युवामाझ तुलनात्मक रूपमा बढी लोकपि्रय । उत्साही र अध्ययनशील । सभापति हारे, चुनावमा टिकट मिलेन । भाइ पुस्ताले औपचारिक कार्यक्रमअघि नै एअरपोर्टदेखि कार्यक्रमस्थलसम्म उनकै विषयमा मलाई जानकारी गराइरहेका थिए । कारण कोइरालाजीसँग मेरो यो भेट पहिलो थियो ।
चर्चित कथा संगालो कुमाता र मोम्चोका लेखक वसन्त पराजुलीले सुनाएका थिए, दाजु विकास कोइरालाको विद्रोहको छायामा परे कैलाश । फलाना दाइको भाइ भनियो । यो कोणबाट चाहिं उनीमाथि अन्याय नै भएको हो । न्याय अन्यायको यही शून्य जस्तो समयलाई चिरेर उनी लेखनमा आएका हुन् ।
उनका पिताजी मनोहरि कोइराला पञ्चायत विरोधी आन्दोलनमा थिए । त्यहीबेला एउटा राजनीतिक समूहले उनको घर जलाइदियो । हुर्कंदै गर्दा बालादिनमा बेघर जस्तो भएर हुर्के कैलाशहरू । फरक-फरक दलमा रहेका जिल्लाका अरू नेताहरू पनि भनिरहेका थिए- लेखनले लामो समय बचाउँछ । कैलाश लेख्न नछोड्नू । प्रश्न अनुत्तरित थियो ।