हेटौँडा–कुलेखानी–मातातीर्थ–सतुङ्गल सडक : तीन पटक म्याद थप्दा समेत भएन पूरा
कुलेखानी हुँदै काठमाडौंको सतुङ्गल जोड्ने सडकको तीन पटक म्याद थप हुँदासमेत निर्माण कार्य पूरा हुन सकेको छैन । हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने सबैभन्दा छोटो दूरीको उक्त सडक मार्गको २ दशकअघि ट्र्याक खोलिएको थियो ।
आर्थिक वर्ष २०७५-०७६ बाट निर्माण कार्य भइरहेको हेटौंडालाई काठमाडौं जोड्ने सो सडकको कुल लम्बाई ६१ किलोमिटर छ । सो सडक २ खण्डमा विभाजन निर्माण कार्य भइरहेको छ । निर्माण कम्पनीको लार्पवाहीका कारण सडक निर्माण कार्यमा प्रयाप्त प्रगति हुन नसकेको भन्दै महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–देउराली–मातातीर्थ–सतुङ्गल सडक सरोकार समितिले असन्तुष्टि जनाउँदै आएको छ ।
सो सडक निर्माणको अवस्था र सुधार बारेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ का वडाध्यक्ष दुतराज तितुङले गत असारमा नै प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराएका थिए । उक्त विषयमा हालसम्म पनि कुनै सुनुवाई हुन नसकेको अध्यक्ष तितुङ बताउँछन् ।