जनता समाजवादी पार्टीले राखेन ७० वर्षे उमेर हद
जनता समाजवादी पार्टी (जसपा)ले कार्यकारिणी कमिटीमा उमेर हद नराख्ने गरी विधानको प्रमाणीकरण गरेको छ। असार १० गतेदेखि १२ गतेसम्म चलेको अधिवेशनमा ७० वर्षको उमेर हदको प्रस्तावसहितको विधानको मस्यौदा प्रस्तुत गरिएको थियो ।
विधान महाधिवेशनमा १३ सदस्यीय पदाधिकारीको पनि मस्यौदा प्रस्तुत गरिएको थियो।
अहिले प्रमाणीकरण गरेर निर्वाचन आयोगमा बुझाइएको विधानमा १७ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ।
विधानमा गैरभौगोलिक विशेष प्रदेश समितिको संरचना हटाई केन्द्रीय सम्पर्क समिति बनाइएको छ। एक सय ५१ सदस्यीय रहने केन्द्रीय समितिमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक रहने व्यवस्था गरिएको छ।
पदाधिकारी तथा सदस्य निर्वाचनमा तीन जना निर्वाचित हुने पदमा एक महिलासहित सामाजिक समूहको समावेशी हुनुपर्ने व्यवस्था गरिएको छ। केन्द्रीय समितिको निर्वाचनमा कम्तीमा एकतिहाई महिलासहित विविधता प्रतिविम्बित हुने गरी खस आर्य, आदिवासी, मधेसी, थारू, दलित, मुस्लिम र अल्पसङ्ख्यक समुदायका जातिय सामाजिक समूहबाट ७० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ३० प्रतिशत केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। यसरी निर्वाचित गर्दा कम्तीमा ४० प्रतिशत युवा हुनुपर्ने व्यवस्था गरिएको छ।
प्रमाणीकरण गरिएको विधानमा सङ्घीय समाजवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा मान्दै सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवाद पार्टीको मूल नारा हुने उल्लेख गरिएको पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए।