महरा चाहन्छन् माओवादीमा ‘कमब्याक’
स्कुले शिक्षक कृष्णबहादुर महरासँग वर्षमान पुनको पछिल्ला वर्षमा कमै भेटघाट हुने गर्थ्यो। माओवादी केन्द्रभित्रको आन्तरिक घर्षणमा नरम–तिक्त दुवै अवस्था बेहोरेका पुनले यसपल्ट ‘महरा सर’ भेट्न गुरुपुर्णिमाको साइत जुराए ।
१८ असारमा लड्डु, खीर र मिष्ठान्न परिकार बोकेर पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित महरा निवास खुमलटार पुगेर पुनले त्यहाँ लामै कुरा गरे । विगतको तितोमिठो खुलेरै व्यक्त भयो । खासगरी माओवादी फुटाएर आफ्नै समूह खडा गरेका विप्लवको सम्भावित घरफिर्तीबारे पुन दम्पत्तिको चासो थियो ।
अनि महरा चाहिँ आफ्नो राजनीतिक भूमिकाबारे वर्षमान पुन के सोच्छन् भन्नेबारेमा खुलेर बुझ्न चाहन्थे । सबैलाई याद छ– माओवादी केन्द्रमा उपाध्यक्ष रहँदा रहँदै पनि पछिल्ला वर्षमा उनको भूमिका शून्यप्राय: छ । अझ पछिल्लो साता सुनकाण्डका आरोपीसँग उनको नाम जोडिइरहेको छ ।
यसबारे उक्त भेटमा के कुरा भयो भन्ने कुनै जानकारी प्राप्त छैन । तर माओवादीभित्रको सम्भावित विकासक्रमबारे भने थुप्रै कुराकानी हुन पुगे । पुनले अप्ठेरो झेलेर पार्टी बचाएकाहरुलाई अपमानित गरेर बाहिरिएको पक्षलाई सम्मानित गर्न खोज्दा सिंगो संगठनमा राम्रो सन्देश नजाने तर्क गर्दै आएका छन् । ठिक यही तर्क गर्न थालेका छन्, उनका प्रतिष्पर्धी जनार्दन शर्मा । फरक यति हो, पुन अलिक सौम्य कूटनीतिक भाषामा प्रकट गर्छन् । शर्मा त्यसलाई कडिकडाउ भाषामा प्रकट गर्छन् ।
पुन र शर्मा माओवादीभित्र भावी नेतृत्वको आकांक्षी बन्दैगर्दा यो दौडमा एकाएक विप्लवको प्रवेश हुने भएको छ । माओवादीले नेतृत्व गरेको समाजवादी केन्द्रको जस्केलो हुँदै विप्लव घरफिर्तीको तयारीमा छन् ।
र, यो प्रक्रियासँग ‘महरा सर’ को गम्भीर अभिरुचि छ । विगतमा आफ्ना स्कुले विद्यार्थी रहेका विप्लव, पुन समेतलाई मिलाएर महरा पार्टीभित्र फेरि आफ्नो शक्ति बढाउन चाहन्छन् । त्यसमा उनले अर्का प्रभावशाली शर्माको समेत साथ चाहेका छन् ।
वर्षमान पुन र ओनसरी घर्तीसँग महराको भेट यसै सिलसिलाको एउटा कडी भएको माओवादी वृत्तको बुझाइ छ । पछिल्ला वर्षमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट क्रमश: उपेक्षित महसुस गरेका महरा दोस्रो तहका प्रभावशाली नेताहरुको साथ लिन चाहन्छन् ।
महराले त्यस दिनको भेटघाटबारे अनलाइनखबरसँग सुनाए, ‘उहाँहरु (वर्षमान र ओनसरी) सँग सामान्य कुराकानीहरु भए, राजनीतिक–व्यक्तिगत । माओवादी धाराहरु एक ठाउँमा हुनुपर्छ भन्ने आम जनताको चाहना छ । त्यसलाई नेतृत्वले मिलेर पूरा गरौं भन्ने कुरा हो ।’
उनका अनुसार अहिले पार्टीलाई फेरि बलियो बनाउन सकारात्मक माहोल बन्दै गएको छ । माओवादी स्रोत भन्छ– यसबीचमा महराले पार्टीभित्र विगतदेखि आपसी प्रतिद्वन्द्वी रहेका पुन, विप्लव र जनार्दन शर्मासँग पटक पटक भेट गरेका छन् । विप्लव अर्को पार्टी खडा गरेर महासचिव रहेकाले गर्दा उनलाई पार्टीमा ल्याउन महराले कम्तिमा ३० पल्ट भेटेको सूत्र बताउँछ ।
महराले ठ्याक्कै संख्या सम्झेनन्, तर ‘होइन’ पनि भनेनन् ।
विप्लवले मंगलबार अनलाइनखबरसँग कुरा गर्दै महरासँग आफ्नो निरन्तर उठबस भएको पुष्टि गरे । माओवादी र आफ्नो दलबीच एकताको मोडालिटी तयार भइसकेको नभए पनि यसका सम्भावनाहरुबारे आकलन भइरहेको उनले बताए ।
‘आजै पनि एकैछिन महरा सरसँग कुरा भयो, माओवादी धाराहरुलाई जोड्नेबारे सहज वातावरण बनाउन महरा सरलाई पार्टीले जिम्मा दिएको रहेछ,’ विप्लवले भने, ‘जनताकै चाहना त्यस्तो छ, हामी मिलौं भन्ने उहाँको प्रस्ताव हो । अरु नेताहरु पनि सकारात्मक नै हुनुहुन्छ । हामी पनि सकारात्मक नै भएर छलफलमा छौं ।’
आफ्नै कर्मचारीमाथि यौन दुर्व्यवहार काण्डमा संलग्न भएको पुष्टि भएपछि चार वर्षअघि सभामुख पद गुमाएका महरा सक्रिय सार्वजनिक जीवनमा फर्कन चाहन्छन् । तर गम्भीर विवादमा संलग्नता खुलेसँगै प्रचण्ड उनलाई विगतकै जस्तो ठूलो जिम्मेवारीमा फर्काउन चाहँदैनन् । महरा एमाले र माओवादी केन्द्रको एकताअघि माओवादी केन्द्रका महासचिव थिए । सभामुख भएसँगै उनकाे पार्टी सक्रियता स्वभाविक रुपमा घटेको थियो ।
उनले पार्टीको उपल्लो भूमिका पुनः माग गर्दै रहे पनि प्रचण्ड त्यसका लागि तयार देखिँदैनन् । सभामुख छँदा बेलाको दुर्व्यवहार प्रकरण छताछुल्ल भएपछि प्रचण्डले महरासँग त्यस बेला जान्न चाहेको, तर उनले एमसीसीमा आफ्नो विरोधका कारण भूराजनीतिक षड्यन्त्र गरिएको जवाफ दिएका थिए । महराकै कुरो पत्याएर प्रचण्ड सिधै तत्कालीन प्रधानमन्त्री तथा नेकपा पहिलो बरियता अध्यक्ष केपी ओलीकहाँ हान्निँदै पुगेका थिए ।
ओलीले भने आफूसँग प्राप्त महरा र उक्त कर्मचारीको भिडियो मोबाइल खोलेर देखाइदिएपछि नाजवाफ प्रचण्डले दाङ पुगेर सार्वजनिक कार्यक्रममा बोलेका थिए, ‘जोखबहादुर महराजीलाई बुझ्न पठाउँदा सही सूचना नदिएपछि म आफैं महराजीलाई भेट्न गएको थिएँ । तर उहाँले सही कुरा बोल्नुभएन । पार्टी नेतृत्वले छानबिन गर्न खोज्दा पनि साथ दिनुभएन ।’
प्रचण्डको यो अभिव्यक्तिपछि महरा चिढिएका थिए । नेतृत्व भइकन आफूलाई संकटमा साथ नदिएको भन्दै महरा प्रचण्डसँग असन्तुष्ट छन् ।
सोहीपरी प्रचण्ड पनि महरासँग असन्तुष्ट छन्– खरिपाटी भेलामा आफू संकटमा पर्दा महराले साथ नदिएको भन्दै ।
१४ वर्षअघिको तिक्त खरिपाटी भेलाले अझै पनि प्रचण्डलाई बेलाबखत झस्काइरहन्छ । किनकि उनी पार्टीभित्र झाँगिएका दुई भिन्न धारहरुबीच एक्लै रनभुल्ल परेका थिए । पहिलोपल्ट प्रधानमन्त्री बनेर भर्खरै पद छाडेका उनमा आन्तरिक झगडाले अझै अलमल बढाइदिएको थियो ।
यसको छोटो पृष्ठभूमि र महरा कनेक्सन् चिहाऔं– ०६६ फागुनमा खरिपाटी भेलामा तत्कालीन ठूलो दल एकीकृत नेकपा माओवादीभित्र संविधानसभामा नरम लाइन लिने कि विद्रोहतिर जाने भन्नेमा ठूलो विवाद भयो । बाबुराम भट्टराई लगायत नेताहरु शान्ति प्रक्रिया र संविधान निर्माणमा केन्द्रित हुनुपर्ने बताउँदै गर्दा मोहन वैद्य किरण, विप्लव, बादल, पम्फा भूसाल, देव गुरुङ लगायतले पार्टी नेतृत्व संशोधनवादी धारमा पतन हुन लागेको आरोप लगाएको थियो ।
यही विचारलाई साथ दिएका थिए कृष्णबहादुर महराले ।
प्रचण्ड चाहिँ मझधारमा अल्मलिइरहेका थिए । दुवै खेमाको तारो आफू बन्दा महराबाट साथ नपाएको प्रचण्डको गुनासो थियो ।
०६९ मा संविधानसभा विघटनसँगै किरण, बादल, विप्लव, देव गुरुङ, पम्फा भुसाल लगायतले माओवादी संस्थापनसँग विद्रोह गरे । उनीहरु किरणको नेतृत्वमा अर्को दल बनाउन खटिए । महराले उनीहरुलाई प्रचण्डसँग विद्रोह गर्न ‘उक्साए’ पनि अन्ततः आफू भने प्रचण्ड नेतृत्वकै माओवादीमा बस्न पुगे ।