पृथ्वी प्रदुषणको जड प्लाष्टिक : उपराष्ट्रपति यादव
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले विश्वभर उत्पादन हुने प्लाष्टिकले वातावरण प्रदूषित गर्ने मात्र नभई व्यवस्थापन समेत जटिल बन्दै गएको बताएका छन्
विश्व वातावरण दिवसमा शुभकामना सन्देश जारी गर्दै उनले प्लाष्टिक प्रदूषणले सिंगो पृथ्वीलाई पार्ने प्रभाव न्यूनिकरण गर्न सबैको हातेमालो आवश्यकरहेको बताए ।
उनले बिज्ञप्तीमा भनेका छन्,‘विश्वभर हरेक वर्ष उत्पादन हुने प्लाष्टिकमध्ये आधाभन्दा बढी एक पटक मात्र प्रयोग हुने गरेको छ । यसले वातावरण प्रदूषित मात्र गरेको छैन, यसको व्यवस्थापन अत्यन्तै जटिल हुनुका साथै चुनौतिपूर्ण समेत बन्दै गएको छ । यसले प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाव बढाउदै लगेको तितो यथार्थ बनेको छ । अतः प्लास्टिक प्रदूषणले सिंगो पृथ्वीलाई पार्ने प्रभावलाई न्यूनिकरण गर्न हामी सबैको हातेमालो अति आवश्यक भइसकेको छ ।’
जलवायु परिवर्तनको कारण अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि हुने हुँदा यो संरक्षण र दिगो विकासका लागि चुनौती बनेको उनको भनाई छ । यो समस्या चिर्न सरोकारवाला सबै पक्ष सचेत र सावधान हुनु पर्ने उनले बताए ।
नेपालको संविधान०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्दै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था गरेको छ ।