अब यो देशको नेतृत्व वैज्ञानिक समाजवादी र समाजवादी मोर्चाले गर्ने : विप्लव
काठमाडौं । नेकपा कामहासचिव नेत्र विक्रम चन्द विप्लवले नेपाल अहिले अत्यास लाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताएका छन् ।
सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले मुलुकको अहिलेको परिस्थिति सामान्य नरहेको बताए ।
उनले भने ‘नेपाल एउटा अत्यास लाग्दो राजनीतिक परिस्थितिबाट गुज्रिरहेको छ । धेरै संकटहरु हाम्रो टाउकोमा घुमिरहेका छन् । हाम्रो देशमाथि अतिक्रमण भईरहको छ । जनता माथि अत्याचार मच्चिरहेको छ । नागरिकहरु छटफटीमा छन् । निरासा र आशाको पंक्तिमा युवाहरुको लाईन छ । अग्रगमन र पश्चगमनको लडाईमा नेपाल उभिरहेको छ । यो परिस्थिति समान्य छैन् । ’
महासचिव विप्लवले कुनै पनि हालतमा प्राप्त उपलब्धि गुमाउन नहुने चर्चा गर्दै एउटा नयाँ सोंचका साथ नयाँ अभ्यास अगाडि ल्याएको बताए ।
उनले भने ‘ कुनैपनि हालतमा प्रतिगामी र अग्रगामीहरुलाई फाईदा उठाउन दिनु हुँदैन् । हाम्रो देश माथि आँखा लगाउने साम्राज्यवादी दृष्टिलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन् । नेपालको स्वाधीनता र नेपाली जनताको अधिकारको लागि एउटा नयाँ संघर्ष अगाडि बढाउनु पर्छ भन्ने सोंचका साथ यो नयाँ अभ्यास अगाडि ल्याएका छौं । यो देशको नेतृत्व अग्रगामीहरुले गर्ने हो । वैज्ञानिक समाजवादी र समाजवादी मोर्चाले गर्ने हो । ’
नेपाली राजनीतीमा नयाँ मोड दिएर समाजवादी मोर्चा घोषणा गरेको उनको भनाई थियो ।