विद्यालय परिसरमा जडीबुटी तथा फलफूलका १०८ बोट वृक्ष रोपिए
काठमाडौं । काठमाडौं महानगरपालिका –१३ ताहाचलस्थित जन प्रभात मा.वि. परिसरमा सोमबार ‘प्लास्टिक प्रदूषण विरुद्ध लागौँ’ भन्ने मुल नाराका साथ वृक्षरोपण गरिएको छ ।
वायु प्रदूषण व्यवस्थापन नागरिक सञ्जाल काठमाडौंको आयोजनामा भएको उक्त वृक्षरोपण कार्यक्रममा जडीबुटी तथा फलफूलका १०८ बोट वृक्ष रोपिएको छ ।
विश्व वातावरण दिवस अवसर पारेर पर्यावरण स्वच्छता बढाउने उद्देश्यकासाथ विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षरोपण गरिएको सञ्जालका अध्यक्ष निरू महर्जनले बताए ।
उनले सिंगो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एकअर्कालाई प्रभाव पारिरहेको बताए ।
‘वातावरण प्रदूषणका कारण गर्भमा भएको बच्चाको दिमागमा समेत प्रतिकुल असर पार्ने हुनाले वृक्षरोपण स्वच्छ स्वासप्रस्वासको लागि नभइ नहुने एक अपरिहार्य कार्य हो’, उनले बताए ।
वृक्षरोपण कार्यक्रममा प्रधानाध्यापक सत्येन्द्रलाल कर्णले वायु प्रदूषण व्यवस्थापन नागरिक सञ्जालले गरेको कार्यक्रमले आफ्नो विद्यालय परिसर हरियाली एवं वायु स्वच्छता हुने बताए ।
कामपा २० वडा अध्यक्ष राजेन्द्र मानन्धरले वृक्षरोपणमा मात्र सीमित नरहि विरुवा हुर्काउनमा पनि थप कदम चाल्नुपर्ने बताए । विरुवा रोप्न सजिलो तर हुर्काउन अन्यन्तै गाह्रो हुने भएकोले आफ्ना बालबच्चा सरह नियमित हेरचाह गर्नुपर्नेमा उनको जोड थियो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रामशरण डंगोलले वृक्षरोपणले गर्दा विद्यालय क्षेत्र प्रदूषणमुक्त हरियालीयुक्त हुने र यसबाट विद्यार्थीहरुले स्वास्थलाभ गर्न सकिने बताए ।