मुलुकको हितमा काम गरे सरकारलाई समर्थन गर्छौ : सांसद बाँस्कोटा
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले सत्ता टिकाउन मात्र समीकरण गरेका टिप्पणी गरेका छन् ।
आईतबार संसदको बैठक पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै उनले प्रधानमन्त्री खुट्टा कमाएर बसेको कारणले नै नेपालको हितमा काम गर्न नसकेको बताए ।
उनले भने ‘ कारबाही गर्न हामीले अवरुद्ध गरेकै छैन । गर्नु भनेकै छौं । त्यो त सरकारले गर्नसक्नु पर्यो नि । तथ्यका आधारमा सत्य स्थापित गर्यो जो कसैलाई कारबाही गर्यो । आग्रहको कुराको के अर्थ छर यो देशमा । हाम्रो मनमा केही छैन । हाम्रो साथ छ, धाप छ ,समर्थन छ, वाईवाई छ, भन्या हो नि । उहाँ गर्नु हुन्न खुट्टा लुगलुग बनाएर आउनु हुन्छ । सत्ता टिकाउन मात्र समीकरण हुन्छ भने यस्तो समीकरणको के काम लाग्यो र ?
उनले एमालेले जवाफदेहितासहितको लोकतन्त्र अपनाएको र मुलुकको हितको लागि काम गरेको बताए ।
राष्ट्रको हितको लागि काम गरे एमालेले सरकारलाई समर्थन गर्ने उनको भनाइ छ । उनले भारत भ्रमणमा जान लागेकोमा आफुहरुलाई कुनै आपत्ति नभएको तर त्यहाँ गएर देशको आवाज बोलेस भन्ने मात्र आफुहरुको चाहना भएको बताए ।