विद्युत उत्पादन घटेकोले लोडसेडिङ भएको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रष्टीकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघिल्लो वर्षको भन्दा २५ देखि ३० प्रतिशतले उत्पादन घटेको हुनाले लोडसेडिङ् भएको प्रष्टीकरण दिएका छन् ।
देशमा लोडसेडिङको समस्या बढ्न थालेपछि आइतबार नेपाल विद्युत प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक घिसिङले विगतमा भन्दा यो वर्ष पानी र हिउँ कम परेको हुनाले विद्युत उत्पादनमा समस्याहरु आएको बताए । उनले यो समस्या १५ दिनभित्र समाधान हुने विश्वास व्यक्त गरे ।
उनले यो छोटो समयको समस्या भएको हुनाले यसलाई सामान्य रुपमा लिन पनि उद्यमीहरुलाई आग्रह गरेका छन् ।
उनले भने, विगत केही समयमा उद्यमी साथिहरुले लोडसेडिङ् धेरै भएको कुरा आएको छ, त्यसमा पहिलो वर्ष धेरै पानी र हिउँ पनि परेको हुनाले जेनेरेसन राम्रो थियो, यसपाली पानी र हिउँ धेरै नपरेको हुनाले जेनेरेसज एकदमै घटेको छ । १०, १५ दिन अलि समस्या हुन सक्छ, यो हाम्रो एकदम सुख्खायाम भएको हुनाले धेरै समस्या भएको हो, त्यसलाई बुझ्नु आवश्यक हुन्छ । यसलाई ठूलो समस्याको रुपमा लिनु भएन छोटो समयको समस्या हो, अर्को वर्ष यो समस्या नआउने गरेर काम गरिरहेका छौ ।
आइतबार विराटनगरका उद्यमी व्यवसायीहरुले बारम्बार भइरहेको लोडसेडिङले आफुहरुलाई आजित बनाएको भन्दै लोडसेडिङको समय तालिका उपलब्ध गराई दिन विद्युत प्राधिकरणलाई आग्रह गरेका थिए । विना जानकारी विद्युत कटौती हुने गरेको भन्दै सुनसरी मोरङ औद्योगिक करिडोरका व्यवसायीहरुले विराटनगरमा प्रदर्शन पनि गर्दै आएका छन् ।