मिठाईदेवी विश्वकर्मालाई कर्मयोगी बद्रि पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्रि पहाडी समाजसेवा पुरस्कार‘–२०७९ मिठाईदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ ।
झण्डै सात दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गर्नुभएको महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाईदेवी विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
२०८० मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित विश्वकर्मालाई पुरस्कृत गरिने छ ।
वि.स.१९९३ फागुन १० गते इन्द्रचोक काठमाण्डौमा जन्मिएकी मिठाईदेवी विश्वकर्मा दलित समुदायबाट स्नातक तह अध्ययन गर्ने पहिलो महिला हुन् । पशुपतिनाथ मन्दिरमा “कुकुर र अछुतलाई प्रवेश निषेध” गरिदै आएकोमा त्यसको विरोध गर्दै वि.स २०११ सालमा दलित समुदायको पशुपतिनाथ मन्दिर प्रवेश आन्दोलनमा उनी सक्रिय रुपमा सहभागी भएकी थिइन् ।
युवा अवस्थामै वि.स २०१२ सालमा उनले नेपाल परिगणित नारी संघको स्थापना गरि सो संस्थामार्फत काठमाडांैको दलित बस्तिमा विद्यालय स्थापना गरेकी थिइन् । दलित समुदायका बालबालिकाहरुलाई शिक्षा प्रदान गर्ने कार्यमा उनको महत्वपूर्ण योगदान छ । नेवार समुदायको कपाली परिवारमा जन्मेर पढाइका लागि संघर्ष गर्दै दलित समुदायका महिलाको चेतना वृद्धिमा योगदान गरेकी मिठाईदेवीले टी.आर. बिश्वकर्मासँग विवाह गरेपछि दलित मुक्तिको आन्दोलनमा उहाँको सक्रियता अझ बढेर गएको थियो ।
उनले भारतीय दलित साहित्य अकादेमीद्वारा प्रदान गरिने डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार लगायत १० वटा पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् । मदर्स केयर स्कुलको स्थापना गर्नुका साथै दलित समुदायका विद्यार्थीका लागि समाज विकास छात्रावासको स्थापनामा पनि उनको सक्रिय सहभागिता रहेको थियो ।