प्रिन्स र रशिलाले एशियालीव्याडमिन्टन च्याम्पियनशीपमा प्रतिष्पर्धा गर्ने
काठमाडौं । ब्याडमिन्टनका उदियमान खेलाडीद्वय प्रिन्स दाहाल र रशिला महर्जनले मित्र राष्ट्र युएईको दुवईमा आयोजना हुने एशियाली ब्याडमिन्टन च्याम्पियनशीप २०२३ मा प्रतिस्पर्धा गर्ने भएका छन् ।
बैशाख १२ देखि १७ गते (अप्रिल २५ देखि ३०) सम्म आयोजना हुने उत्कृष्ट मध्यको एक च्याम्पियनशीप सुपर सेरिज १००० नामाकरण रहेको यस च्याम्पियनशीपमा नेपालले पुरुष एकल, महिला एकल र मिक्स जोडीमा गरि तीन विधामा प्रतिष्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
उक्त प्रतियोगितामा राष्ट्रिय रेफ्री अनुप रत्न शाक्यले निर्णायकको भूमिका निर्वाह गर्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।
आईतबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ‘ज्वाला’ ले खेलाडी तथा निर्णायकलाई शुभकामना सहित बिदाई गरे । बिदाईका क्रममा उपाध्यक्ष कोईरालाले नेपालका उच्च श्रेणीका ब्यक्तिहरुले समेत प्रिन्सलाई पुरस्कार प्रदान गर्न लालायित रहने भन्दै त्यस सम्मानलाई कायम राख्दै सहभागिताका लागि मात्र खेल्न नभई उत्कृष्ट नतिजा ल्याउनेमा आफु बिश्वस्त रहेको बताए ।
परीक्षाका कारण विदाई कार्यक्रममा रशिलाको उपस्थिति थिएन ।
बिदाई कार्यक्रममा नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, महासचिव विरेन्द्र श्रेष्ठ, कोषाध्यक्ष, अनुज बस्नेत, सदस्य छबीलाल शाही, प्रमुख प्रशिक्षक सुदीप योन्जन, बागमती प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष रुद्र बहादुर थिङ्गको उपस्थिति रहेको थियो ।
टोली आजै त्यस दुवई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।