३ महिला पत्रकारले महाकालीदेखि मेचीसम्मको साइकल यात्रा गर्ने
काठमाडौं । समता मिडिया सेन्टरका ३ जना महिला पत्रकारहरुले महाकालीदेखि मेचीसम्मको साईकलयात्रा गर्ने भएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जातीय तथा सबैखाले विभेद अन्त्य गरी दलित महिलाको न्याय, समानता, मुक्ति र आत्मसम्मानका लागि नेपाल सरकार, सम्बन्धित निकाय तथा सरोकारवालाहरुको भूमिका केन्द्रित गर्न ३ जना महिला पत्रकारहरुले साईकल यात्रा गर्ने भएका हुन् ।
साईकल यात्रा गर्नेहरुमा रीता बुढाथोकी,इन्दिरा विश्वकर्मा र सङ्गीता नेपाली रहेकी छन् । उनीहरुले महाकालीको कञ्चनपुरबाट यात्रा सुरु गरी झापाको मेचीनगरमा यात्रा विसाउँने छन् ।
साईकल यात्रा १८ देखि २५ दिनको हुने साईकल यात्रा संयोजक रीता बुढाथोकीले बताएकी छन् ।
उनले भनिन ‘हाम्रो यात्रा नेपालको सुदूरपश्चिमको कन्चनपुरबाट सुरु भई झापास्थित मेची नगरमा पुगेर सम्पन्न हुनेछ ।यात्रा १८ देखि २५ दिनको हुने यसवीचमा साईकल यात्रामा निस्केका महिला पत्रकारहरुले सडकबाट पायक पर्ने दलित बस्तिमा पुगेर दलित महिलाहरुसंग प्रत्यक्ष साक्षात्कार गर्नेछ । ’
महाकाली– मेची साइकल यात्राले सरकार, राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारकर्मी, नागरिक समाज राजनीतिज्ञ, जनप्रतिनिधि र सञ्चार माध्यमको समेत ध्यानाकर्षण गराउन सफल हुने विश्वास उनीहरुको छ ।
साईकल यात्रा जातीय छुवाछुत र भेदभाव विरुद्ध हुने भएकाले दलित समुदाय र गैरदलित समुदायलाई समेत जागृत गराउने उनीहरुको लक्ष्य छ ।