अक्षय त्रितीया पर्व, जौँ को सातु र सर्वत खाएर मनाइँदै
काठमाडौं । आज वैशाख शुक्ल तृतीया । देशका विभिन्न ठाउँमा जौँ वा चनाको सातु तथा चिसो पानीको सर्वत खाएर मनाइँदै छ ।
भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने मान्यता छ ।
आज मिथिला क्षेत्रमा बाटोमै बसेर आवतजावत गर्नेहरुलाई जाँै र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने परम्परा छ ।
आजको दिन सातु र सर्वत ख्वाइँदा कहिल्यै नास नहुने, अक्षय पुण्यप्राप्त हुने जनविश्वास छ । मिथिलामा आज गरिब तथा अभावमा रहेकाहरुलाई सातुका थैला र सर्वत राखिएको घडादान गर्ने परम्परा समेत छ ।
गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जाँै र चनाको सातु खानपिनको प्रयोग गर्ने परम्परा विकसित भएको मान्यता छ ।
भविष्य पुराणमा भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई दान दिनेको कहिल्यै भण्डार खाली नहुने उल्लेख छ ।