स्ववियु निर्वाचन गराउन रोकिएका क्याम्पसमा आन्तरिक तयारीमा जुटे विद्यार्थी संगठन
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गराउन बाँकी रहेका कलेजहरूलाई चैत १२ गतेको अन्तिम म्याण्डेड दिएको छ ।
चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्यो अगावै स्ववियु निर्वाचन गराउन त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले निर्देशन गरेका हुन् । त्रिविका देशभरका ६२ वटा आंगिक मध्ये १७ क्याम्पसमा निर्वाचन रोकिएको थियो । काठमाडौं उपत्यकाका २२ वटा मध्ये ८ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी छ भने उपत्यका बाहिरका ४० वटा आंगिक मध्ये ९ वटामा निर्वाचन रोकिएको छ ।
उपत्यकाभित्रका आर्युवेद क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल कमर्स क्याम्पस मीन भवन, विश्वभाषा क्याम्पस र रत्नराज्यलक्ष्मी क्याम्पस निर्वाचन रोकिएको छ ।
त्यस्तै उपत्यका बाहिरका पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ, सिद्धनाथ साइन्स क्याम्पस लगायतमा निर्वाचन प्रक्रिया रोकिएको छ ।