एक वर्षमै फेरिए यातायात व्यवस्था विभागमा पाँच महानिर्देशक
यातायात व्यवस्था विभागमा एकै वर्षमा पाँच महानिर्देशक फेरिएका छन् । महानिर्देशक फेरिइरहँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) र इम्बोस्ड नम्बर जडानको काम प्रभावित बन्दै आएको छ । २०७९ असार १९ मा नमराज घिमिरे सरुवा भएपछि त्यसयता महानिर्देशक फेरिइरहेका छन् ।
लामो समय टिकेर कुनै पनि महानिर्देशकले काम गर्न पाएका छैनन् । २०७९ असार २० मा महानिर्देशक जिम्मेवारी सम्हालेका सुरेश राउतको दुई महिनामै सरुवा भयो । उनीपछि २०७९ भदौ २० मा महानिर्देशकको जिम्मेवारी सम्हाल्न पुगेका टोकराज पाण्डेको पाँच महिनामै सरुवा भयो ।
पाण्डेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालबाट महानिर्देशकको जिम्मेवारी सम्हाल्न तुलसीनाथ गौतम आए । तर उनी एक महिना पनि विभागमा बस्न पाएनन् । २०७९ माघ २५ मा महानिर्देशकको रुपमा पुगेका उनको फागुन १४ मा स्वास्थ्य मन्त्रालयमा सरुवा भएको हो । गौतमको सरुवा भएको झन्डै दुई सातापछि शुक्रबार (फागुन २६ गते) नारायणप्रसाद भट्टराईले विभागको जिम्मेवारी सम्हालेका छन् ।