चिनियाँ सेनालाई फलामको पर्खालजस्तो बनाउँछु
चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सेनालाई थप शक्तिशाली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेका सीले आफ्ना सेनालाई ‘ग्रेट वाल अफ स्टिल’ फलामको पर्खालजस्तो बनाउने बताएका हुन् । चिनियाँ संसद नेसनल पिपुल्स कंग्रेसको बैठकको समापनसत्रमा सीले राष्ट्रिय सुरक्षा र सेनालाई व्यापक रूपमा आधुनिकीकरण गर्न आवश्यक रहेको उल्लेख गरे ।
तीन हजार सांसदका अगाडि उनले भनेका छन्, ‘हामीले जनमुक्ति सेनालाई फलामको ठूलो पर्खाल बनाउनुपर्छ, जसले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासका प्राथमिकतालाई प्रभावकारी रूपमा जोगाउँछ ।’
सीले सो क्रममा वर्तमान परिस्थितिमा आफ्नो राष्ट्रले विदेशी शक्तिहरूबाट खतरा महसुस गरे पनि कम्युनिस्ट पार्टीले देशले भोगिरहेको ‘राष्ट्रिय अपमान’लाई सफा गर्न नेतृत्व गरेको उल्लेख गरे । ‘चिनियाँ नागरिकहरू आफ्नो भाग्य कोर्न सक्षम छन्,’ उनले भनेका छन्, ‘महान चिनियाँ राष्ट्रको पुनर्स्थापना एक अपरिवर्तनीय ऐतिहासिक प्रक्रियामा प्रवेश गरेको छ ।’