अदालतले दियो पृथ्वी शाहसहित ६ जनालाई थुनामा राख्न आदेश
काठमाडौँ जिल्ला अदालतले पृथ्वी बहादुर शाहलाई ठगी र किर्तेसहित चारवटा मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । अदालतले शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश गरेको हो ।
पुस २२ मा केन्द्रीय अनुसन्धान ब्युरोले अछाम घर भएका ३५ वर्षीय शाह सहित ७ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका मध्ये ६ जनालाई अदालतको आदेश अनुसार थुनामा पठाइएको सिआईबीका एसएसपी दिनेश आचार्यले बताए । शाहसँगै पक्राउ परेकी मनिका तामाङलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ ।
सिआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले उनीहरुविरुद्ध ठगी, लिखत सम्बन्धी कसुर, सहकारी ठगी र सङ्गठित अपराध विरुद्ध अभियोगपत्र दायर गरेको थियो ।