प्रहरी कार्यालयमै चिनियाँ नागरिकले गरे नाराबाजी
काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमध्ये ९ जना चिनियाँ नागरिक थिए ।
बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिँदै उनीहरुलाई सञ्चारकर्मीमाँझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाए । उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए ।
हत्कडीसहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुव्र्यवहार गर्न खोजेका थिए ।
कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेर हत्कडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार हो । ‘पहिले पनि पक्राउ परेका बेला प्रहरी र अरुलाई आक्रमण गर्न खोजेको देखिएकै हो’, ती अधिकृतले भने, ‘मार्सल आर्ट्स सिकेका चिनियाँले प्रहरीलाई सधैं हैरान पार्ने गरेका छन् ।’
२०७७ को वैशाख अन्तिमतिर स्वदेश फिर्तीको माग राख्दै प्रदर्शन गर्ने क्रममा पुगेका प्रहरीलाई चिनियाँले हातपात गरेका थिए । पछि प्रहरीले कुटपिटमा संलग्न चार चिनियाँ नागरिकलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।