उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता नगर्ने आयोगको निर्णय
निर्वाचन आयोगले उपराष्ट्रपति पदमा पुरुषको उम्मेदवारी दर्ता गर्ने नदिने निर्णय गरेको छ ।
आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपतिको पदमा खासआर्य समुदायका पुरुष (रामचन्द्र पौडेल) निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदायको मात्र उम्मेदवार हुनसक्ने निर्णय गरेको छ । बैठकपछि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ताका सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।’