पछिल्लो समय बैंकबाट ऋण लिएर नतिर्नेहरुको संख्या बढ्यो
पछिल्लो समय बैंक तथा वित्तीय कम्पनीहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूको संख्यामा तीव्र वृद्धि आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर (एनपीएल) २.६० प्रतिशत पुगेको हो ।
यसअघि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जाको दर २.२९ प्रतिशत मात्र रहेको थियो । उसो त अघिल्लो आर्थिक वर्ष यसै अवधिमा १.८३ प्रतिशत हाराहारी मात्र रहेको खराब कर्जाको दर ८–१० महिनामा नै झण्डै दोब्बरले बढ्नुले वित्तीय क्षेत्रमा चिन्ता थपेको छ ।
खासगरी पछिल्लो समय बढेको विश्व आर्थिक मन्दीको असर नेपाली अर्थतन्त्रमा समेत पर्दा उपभोग्य बजार शिथिल भई व्यापार व्यवसाय, उद्योग कलकारखानाको उत्पादन घट्दा यसको असर बैंकको लगानीमा परेको हो । उत्पादन र बजार नै नहुँदा ऋणीहरुले बैंकको सावाँ ब्याज भुक्तानी (किस्ता) समेत चलाउन सकेका छैनन् । जसका कारण यता बैंकहरुको खराब कर्जाको दर अझ बढ्न पुगेको छ ।