जसपाको उपराष्ट्रपति पदमा अडान
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले उपराष्ट्रपति पदमा आफ्नो अडानमा कायम रहेको छ । पावर सेयरिङमा उपराष्ट्रपति पद आफ्नो पार्टीले पाउनुपर्ने जसपाको माग छ । त्यसका लागि अध्यक्ष उपेन्द्र यादवले दुवै पक्षसँग कुराकानी गरिरहेका छन् । यादवले एमालेका अध्यक्ष केपी शर्मा ओलीका साथसाथै कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग पनि समानान्तर छलफल गरिरहेका हुन् ।
उनले ती भेटहरूमा राष्ट्रपति र उपराष्ट्रपति फरक समुदायबाट हुनुपर्छ भन्दै उपराष्ट्रपति आफ्नो पार्टीले पाउनुपर्ने बताउँदै आएका छन् । जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले राष्ट्रपति वा उपराष्ट्रपतिमध्ये एउटा जसपाले पाउनुपर्ने आफूहरूको अडान रहेको बताए । राष्ट्रपति नपाउने निश्चित जस्तै रहेकाले आफ्नो पार्टीले उपराष्ट्रपतिका लागि सबै दलहरूसँग संवाद गरिरहेको उनको भनाइ छ ।