सेबोन अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कैलालीका भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए।
बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था पुनः कायम गर्ने सम्बन्धी विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। त्यस्तै सहकारी सम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण गर्ने र बचत तथा ऋण सहकारीको नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै कानुन निर्माण गर्ने विधेयक तर्जुमाको सिद्धान्त पनि स्वीकृत गरिएको छ।
त्यसैगरी राष्ट्रिय सेवा दल सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसदमा पेश गर्न सरकारलाई स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले संघीय संसदमा चारवटा प्रतिस्थापन विधेयक पेश गर्न समेत स्वीकृति दिएको छ। ती विधेयकहरूमा सहकारी ऐन, २०७४, सार्वजनिक खरिद ऐन, २०६३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन, २०६४ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधनका प्रस्ताव समावेश छन्।
सरकारका अनुसार यी निर्णयहरूले सहकारी क्षेत्रको सुधार, वित्तीय अनुशासन सुदृढीकरण, सार्वजनिक खरिद प्रणालीको परिमार्जन तथा कानुनी संरचनालाई समयानुकूल बनाउने उद्देश्य राखेका छन्।