भानु नगरपालिका–१२ ज्यामरुक कोट थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना
तनहुँको भानु नगरपालिका–१२ स्थित ज्यामरुक कोट थुम्कामा ४५ फिट अग्लो राष्ट्रिय झण्डा स्तम्भ स्थापना गरिएको छ।
अधिकारी क्षेत्रीको कुलदेवता थान परिसरमा रहेको ऐतिहासिक तथा प्राकृतिक सौन्दर्यले भरिएको कोट थुम्कामा उक्त झण्डा स्तम्भको स्थापना गरिएको हो। नगरप्रमुख आनन्दराज त्रिपाठी र वडाध्यक्ष बेलबहादुर अधिकारीले संयुक्त रूपमा स्तम्भको उद्घाटन गरेका छन्।
नगरप्रमुख त्रिपाठीले राष्ट्रिय झण्डा स्तम्भ स्थापनासँगै कोट थुम्का अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुने विश्वास व्यक्त गरे। उनका अनुसार ऐतिहासिक र प्राकृतिक विशेषताले भरिएको यस क्षेत्रलाई पर्यटन प्रवर्द्धनमार्फत थप समृद्ध बनाउन सकिनेछ।
त्यस्तै, मिलुङ बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक कुशलचन्द्र अधिकारीले कोट थुम्का पर्यटकीय गन्तव्य बन्दै जाँदा स्थानीय कृषि तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताए।
स्थानीय विकासलाई लक्षित गर्दै उक्त क्षेत्रमा थप २०० वटा लालीगुराँसका बिरुवा रोप्ने योजना समेत रहेको जनाइएको छ।