उपप्रधानमन्त्री श्रेष्ठ र विदेश सचिवबीच मंगलबार भेटवार्ता
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ । उनीहरूबीच बिहान ११ बजे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो ।
उक्त भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको रेल्वे, आर्थिक समृद्धि, नेपाल-भारतबीच भएका सन्धी सम्झौता तथा भारतीय पक्षले लगानी गरेका आयोजनाका बारेमा कुरा राखेका थिए । त्यस्तै भारतीय विदेश सचिव क्वात्राले भारतीय कम्पनीले संचालन गरिरहेको जयनगर-कुर्था रेल सञ्चालनको म्याद नवीकरणको विषय राखेका थिए । जयनगर-कुर्था रेलको संचालन भारतीय कम्पनी "केआरसिएल" ले गर्दै आएको छ । त्यसको म्याद सकिन लागेकाले विदेश सचिव क्वात्राले नवीकरणको विषय उठाएका थिए। साथै त्यसप्रकारको रेलवे संचालनका लागि नेपाली प्राविधिक जनशक्तिलाई तालिम दिएर दक्ष बनाउन सके उनीहरूले नै नेपालमा रेलवे अप्रेसनको काम गर्न सक्ने क्वात्राले बताए । त्यसो गर्न सके नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दो हुने क्वात्राको भनाइ थियो ।