तत्कालका लागि स्थगित भयो उड्डयन सुरक्षा मूल्यांकन गर्न ईयूको टोली नेपाल आउने योजना
नेपालको उड्डयन सुरक्षाबारे ‘अनसाइट मूल्यांकन’ गर्न नेपाल आउने योजनामा रहेको युरोपेली युनियनले तत्कालका लागि नेपाल भ्रमण रोकेको छ ।१ माघमा पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनापछि प्राधिकरणको जनशक्ति दुर्घटना जाँच आयोगको काममा खटिनु पर्ने भएकाले आपसी सहमतिमा तत्कालका लागि ईयूको नेपाल भ्रमण रोक्ने निर्णय भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । ‘ठूलो दुर्घटनाका कारण प्राधिकरणको जनशक्ति खटिनु पर्ने भएकाले ईयूको भिजिट तत्कालका लागि रोकिएको हो’ उनले भने ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शुक्रबार एक संयुक्त विज्ञप्ति जारी गर्दै ईयूको अनसाइट मूल्यांकन तत्कालका रोकिएको जनाएका छन् ।
नेपालको उड्डयन सुरक्षाबारे ईयूले गत अक्टोबरमा एक टोली नेपाल पठाएर अध्ययन गरेको थियो । सो टोलीले उडान सुरक्षामा उल्लेख्य प्रगति भएको निष्कर्ष निकाल्दै अर्को टोलीलाई साइटमै खटाएर अध्ययन गराउने निर्णय गरेको थियो । सोही अनुसार टोली पठाउने तयारी गरेको थियो । प्राधिकरणका अनुसार फेब्रुअरी वा मार्चमा यो टोली नेपाल आउने तयारी थियो । प्राधिकरण र ईयूको संयुक्त विज्ञप्तिमा उड्डयन सुरक्षाका लागि ईयूले नेपाललाई निरन्तर सहयोग जारी राख्ने उल्लेख गरेको छ ।
नेपाल सन् २०१३ यता युरोपेली युनियनको कालोसूचीमा छ । ईयूले अनसाइट मूल्यांकनपछि नेपाललाई यो सूचीबाट निकाल्ने वा ननिकाल्ने भन्ने निर्णय लिनेवाला थियो । तर, अनसाइट भिजिट तत्काल नहुँदा कालोसूची समेत लम्बिन सक्छ । ईयूको हवाई क्षेत्र हेर्ने निकायको वर्षको दुई पटक (मे र नोभेम्बर)मा बस्ने बैठकले कालोसूचीबारे निर्णय लिने गर्छ ।