प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री अनुपस्थित रहने, अर्थमन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ
काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनेछन्।
प्रतिनिधिसभाको कार्यसूचीअनुसार बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री अनुपस्थित रहने भएपछि सरकारका तर्फबाट अर्थमन्त्री वाग्लेले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयका साथै अन्य मन्त्रालयका विषयमा पनि जवाफ दिने तयारी गरिएको छ।
प्रधानमन्त्रीले संसदीय कार्यविधिअनुसार आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्रीलाई जिम्मेवारी तोकेको सचिवालयले जनाएको छ। यसअघि पनि प्रधानमन्त्रीका तर्फबाट संसद्मा अर्थमन्त्रीमार्फत जवाफ दिने अभ्यास भएको थियो।
जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएपछि उनी त्यसयता संसद् बैठकमा उपस्थित भएका छैनन्। उक्त विषयलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो धारणा स्पष्ट पार्नुपर्ने माग गर्दै आएका छन्।
प्रधानमन्त्रीको अनुपस्थितिका बीच आजको बैठकमा बजेटमाथिको छलफललाई निष्कर्षमा पुर्याउने र सांसदहरूको प्रश्नको जवाफ सरकारका तर्फबाट अर्थमन्त्रीले दिने कार्यक्रम तय गरिएको छ।