पोखरामा ५० वर्षदेखि रोकिएको बसपार्क निर्माण अघि बढ्दै, संरचना हटाउन सुरु
पोखरा — पोखरा महानगरपालिका–९ मा लामो समयदेखि अलपत्र रहेको बसपार्क निर्माण कार्यलाई अघि बढाउन महानगरपालिकाले अवरोध बनेका संरचना हटाउन सुरु गरेको छ।
बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपस्थितिमा बसपार्क क्षेत्रमा डोजर परिचालन गरी संरचना हटाउने कार्य थालिएको हो। महानगरपालिकाले बसपार्क निर्माणलाई गति दिन अनधिकृत संरचना तथा अन्य अवरोधहरू हटाएर निर्माण प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
उक्त बसपार्क निर्माण योजना विभिन्न प्रशासनिक, प्राविधिक तथा अन्य कारणले करिब पाँच दशकदेखि कार्यान्वयन हुन सकेको थिएन। लामो समयदेखि रोकिएको परियोजनालाई पुनः सक्रिय बनाउँदै महानगरले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
महानगरपालिकाका अनुसार बसपार्क निर्माण सम्पन्न भएपछि सार्वजनिक यातायात व्यवस्थापन सहज हुनुका साथै पोखरा महानगरको सहरी पूर्वाधार विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले पनि लामो समयदेखि प्रतीक्षामा रहेको बसपार्क निर्माण कार्य अघि बढेकोमा सकारात्मक प्रतिक्रिया दिएका छन्। महानगरपालिकाले निर्माण कार्यलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।