पश्चिम नवलपरासीका एसपी कँडेल हेडक्वार्टर तानिए
पश्चिम नवलपरासीका इन्चार्ज प्रहरी उपरीक्षक (एसपी) ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालय तानिएका छन्।
उनलाई सोमबार हेडक्वार्टर तानेर छानबिन गरिएको नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।
उनका अनुसार कमान्ड कन्ट्रोल राम्रो नभएको भन्ने गुनासो आएपछि कँडेललाई छानबिनका लागि तानिएको हो। उनीमाथि आर्थिक अनियमितता गरेको पनि आरोप रहेको डिआइजी राईले बताए।
‘कमान्ड कन्ट्रोलिङ राम्रो नभएको, आर्थिक अनियमिततालगायत केही आरोप आएका हुनाले उनीमाथि छानबिन गर्न बोलाइएको हो,’ उनले भने, ‘जिल्ला कमान्डरहरूले नैतिकवान, व्यावसायिकता देखाएर काम गर्नुपर्ने हुन्छ।’
यस्तै, उनको सट्टामा अहिले कसैलाई पठाइएको छैन। छानबिन गरी निर्दोष देखिए उनैलाई पठाइने पनि बताए।
कँडेल यसअघि पनि विवादमा तानिसकेका छन्।