काठमाडौं विश्वविद्यालयमा उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं, ३ असार । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई दरखास्त दिन आग्रह गरेको हो।
समितिले जारी गरेको सूचनाअनुसार सूचना प्रकाशित भएको मितिदेखि १० दिनभित्र शिक्षा तथा खेलकुद मन्त्रालय को वेबसाइटमा उपलब्ध लिंकमार्फत आवेदन पेस गर्न सकिनेछ। उपकुलपति नियुक्ति प्रक्रिया ‘केयू उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३’ बमोजिम अगाडि बढाइएको जनाइएको छ।
यसअघि जेठ १९ गते बसेको काठमाडौं विश्वविद्यालयको सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेल को संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।
समितिमा राष्ट्रिय योजना आयोग की सदस्य रेशु अर्याल ढुंगाना तथा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्मा सदस्यका रूपमा रहेका छन्।
समितिले प्राप्त आवेदनहरूको मूल्याङ्कनपछि योग्य उम्मेदवारहरूको छनोट गरी उपकुलपति पदका लागि नाम सिफारिस गर्नेछ। शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको काठमाडौं विश्वविद्यालयमा नयाँ नेतृत्व चयनसँगै संस्थाको शैक्षिक तथा संस्थागत विकासले थप गति लिने अपेक्षा गरिएको छ।