चीनले साङ्घाईमा २०२६ विश्व एआई सम्मेलन र उच्च–स्तरीय गभर्नेन्स बैठक गर्ने तयारी
चीनले आगामी जुलाईमा साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) सम्मेलन २०२६ र विश्वव्यापी एआई गभर्नेन्ससम्बन्धी उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरेको छ।
चिनियाँ राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा यस सम्मेलनलाई एआई सम्बन्धी अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताएका छन्।
उनका अनुसार एआई मानव भविष्यमा गहिरो प्रभाव पार्ने भएकाले यो सबै देशहरूको साझा सरोकारको विषय हो। चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणलाई प्राथमिकता दिँदै एआईको विकासलाई अघि बढाउने नीति लिएको जनाएको छ।
चीनले विकास र सुरक्षा बीच सन्तुलन कायम गर्दै “जन–केन्द्रित एआई” विकास गर्ने र विश्वव्यापी एआई शासन प्रणालीमा योगदान पुर्याउने लक्ष्य राखेको पनि बताइएको छ।
यो सम्मेलनलाई एआई प्रविधि र यसको विश्वव्यापी नियमनसम्बन्धी अन्तर्राष्ट्रिय छलफलको महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ।