राष्ट्रिय ट्रमा सेन्टरको ओपीडी सेवा डा. श्रेष्ठको शोकमा बन्द
राष्ट्रिय ट्रमा सेन्टरमा ओपीडी सेवा बन्द गरिएको छ । आइतबार विमान दुर्घटनामा परेर निधन भएका डा.शुशील श्रेष्ठको शोकमा ट्रमा सेन्टरको ओपीडी र प्रशासन सेवा बन्द गरिएको हो ।
काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको ९ एन–एनएनसी एटीआर विमान विहान १०.५१ मा पोखराको सेती खोंचमा दुर्घटना परेको थियो । विमानमा ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. श्रेष्ठको दुर्घटनामा परी मृत्यु भएको थियो । उनको शोकमा सोमबार सेन्टरको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको सेन्टरमा निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।
विमान दुर्घटनामा डा. श्रेष्ठ, उनकी श्रीमती डा. सोना दिवाकर र १० महिने छोराको निधन भएको थियो । निर्देशक डा.मरासिनीले भने– ‘विगत ६ वर्षदेखि डा.सुशीलले काम गर्दै आउनुभएको थियो, हिजो विमान दुर्घटनामा सपरिवार परेकोले सेन्टर शोकमग्न छ । ट्रमा सेन्टरको प्रशासन र ओपीडी बन्द गरिएको छ । आकस्मिक सेवा मात्र दिइरहेका छौ ।’