क्रसर बन्दपछि रोकिन थाले आयोजनाहरूमा काम, सडक विभाग भन्छ-गिट्टी बालुवा चन्द्रमाबाटै ल्याउने कि ?
विकासे आयोजनाहरूलाई ठेकेदार कम्पनीले ढुंगा, गिट्टी र बालुवा किन्न र ओसारपसार गर्न सरकारले रोक लगाएको भन्दै तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्ने जानकारी गराउन थालेका छन् । काम रोकिएको र त्यसको जिम्मेवार सरकार नै हुने भन्दै निर्माण कम्पनीले लिखित रुपमै आयोजनाहरुसँग दाबी, क्षतिपूर्ति र हर्जाना दावी गर्न थालेका छन् ।
२० पुसको गृह मन्त्रालयको अवैध क्रसर बन्द गराउने निर्णयपछि ढुंगा, गिट्टी र बालुवाको अभाव चर्किएको छ । जसका कारण काठमाडौ उपत्यकादेखि लिएर प्रमुख सडक आयोजनाहरु प्रभावित भएको सडक विभागले जनाएको छ । शहरी विकास तथा भवन निर्माण विभाग, सिँचाइ विभाग, खानेपानी तथा ढल निकास विभाग, नेपाल विद्युत प्राधिकरण, नेपाल नागरिक उडड्यन प्राधिरकण, स्थानीय पूर्वाधार विभागसहित प्रदेश सरकार र स्थानीय सरकाकरा निकाय र त्यसअन्तरगतका आयोजनाहरुमा ठेकेदार कम्पनीले ढुंगा, गिट्टी र बालुवा अभावले समस्या भएको पत्र आउन थालेका छन् ।
गृह मन्त्रालयले दर्ता र नवीकरण नभएका क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि देशभरै जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा चलिरहेका अधिकांश क्रसर बन्द गरेको छ । ओसारपसारमा पनि कडाइ गरिएको छ ।
यसका कारण काठमाडौंमा सडक मर्मतका थालिएका कामहरु पनि यसबाट प्रभावित भएका छन् । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार जापानिज निर्माण व्यवसायीले निर्माणाधीन नागढुंगा सुरुङमार्ग पनि वालुवा नपाएर निर्माण ठप्प हुने अवस्थामा पुगेको छ ।
‘ठेकेदारले सरकारसँग हर्जाना दाबी गर्ने संकेत दिएको छ,’ थापाले भने,’ त्यसरी माग गरेको दाबी ठेक्का सम्झौता अनुसार दिनै पर्छ । त्यस्तो भुक्तानी जनताको करबाटै तिर्न पर्ने हुन्छ ।’
उनका अनुसार नागढुंगा नौबिसे-मुग्लिङ सडक विस्तार पनि सुरु भएको छ ।
‘यसमा ठीकै रफ्तारमा काम भइरहेको भन्ने आम समाचार माध्यममा पढन पाउँदा खुशी लागेको थियो । त्यो खुशी पनि धेरै दिन रहन पाएन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,’निर्माण व्यवसायीले किनेर आफ्नो क्याम्पमा राखेको बालुवा, ढुंगा र गिट्टी मात्र हैन, सडकमा निर्माणका लागि सडकको छेउमा थुपारेको तर, निर्माण सकेर बचत हुन गएको निर्माण सामाग्री समेत २-३ सय मिटर परको अर्को साइट लैजान समेत बन्देज छ ।’
उनले ‘देशमा कानूनको पालना कडाइका साथ लागु हुन्छ,’ भन्दै आयोजना प्रभावित भएपछि गृह प्रशासनले गरेको कडाइमा व्यंग्य कसेका छन् ।
यसो गर्दा कामै नगरी जनताको करको पैसा दाबी, क्षतिपूर्ति र हर्जानाबापत विदेशी ठेकेदारहरुले भुक्तानी लिने अवस्था आएको बताएका छन् ।
‘अब देशमा खनिजजन्य निर्माण सामाग्रीहरु चन्द्रमाबाट ल्याउने योजना गर्नु पर्ने हो कि ?,’ उनले भनेका छन्,’देशभित्रको ढुंगा गिट्टी र बालुवा चलाउँदा पर्यावरण र वातावरण बिग्रन्छ । सबैलाई हानी नोक्सानी हुन्छ । दोहन गर्नु हुन्न । जय होस् !’