उपप्रधानसहित ४ मन्त्रालय राप्रपाले माग्यो
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ।
पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्।
तर सरकारमा सहभागीताबारे आफूहरूका एजेन्डा न्यूनतम साझा कार्यक्रममा समावेश गर्नुपर्ने अडानमा राप्रपा छ।
राप्रपा अध्यक्ष लिङ्देन सत्ता साझेदार दलका शीर्ष नेताका बैठकमा सहभागी हुने गरेका छन्। सत्ता साझेदार दलहरूले गत पुस १४ मा एक समिति गठन गर्दै ५ दिनभित्र न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका थिए। तर उक्त कार्यक्रम ल्याउन ढिलाइ भइरहेको छ।
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। गत पुस १० मा ७ दल र केही स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।
प्रतिनिधि सभामा १४ जना सांसद रहेको राप्रपाले पनि न्यूनतम साझा कार्यक्रममा आफूहरूका एजेन्डा समावेश भए सरकारमा जाने बताएको छ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीमा बिदा दिनेलगायत राप्रपाले उठाएका माग समावेश भए सरकारमा पार्टी सहभागी हुने बताए।
‘हामीले उठाउँदै आएका माग सरकारले न्यूनतम साझा कार्यक्रममा समावेश गर्यो भने पार्टी सरकारमा जान्छ। सरकारमा जाने स्थिति बनेमा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा जान्छौं,’ उनले भने।
राप्रपाको केही समयअघि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले न्यूनतम साझा कार्यक्रममा आफूहरूका एजेन्डा समावेश गरिए सरकारमा जाने र त्यो परिस्थितिमा पार्टीबाट अध्यक्ष लिङ्देनले नेतृत्व गर्ने निर्णय गरेको थियो।
राप्रपाले सत्ता साझेदार दलका बैठकहरूमा कुरा उठ्दा उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गर्दै आएको छ। कुन-कुन मन्त्रालय लिने र क-कसलाई मन्त्री बनाउनेबारे भने पार्टीमा छलफल हुनै बाँकी रहेको श्रेष्ठ बताउँछन्।