सुनको मूल्य आज सम्मकै उच्च
लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो।
आज सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा छ सय रुपैयाँ बढी हो। यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो। उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो।
अघिल्लो कारोबार दिन अर्थात् सोमबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।