प्रधानमन्त्रीको निर्देशनपछि पनि विमानस्थल भन्सारमा मोबाइलमा गरिएको कडाइ हटेन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किने नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न निर्देशन दिए । तर, प्रधानमन्त्रीको निर्देशनपछि पनि मोबाइलमा गरिएको कडाइ हटेको छैन ।
प्रधानमन्त्रीले निर्देशन दिएको ३ दिनपछि अमेरिकाबाट फर्केका डीएल नेम्बाङले ल्याएको थप एकथान मोबाइल त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको छ । आफ्नो मोबाइल जफत गरिएको नेम्वाङले बताएका छन् ।
त्रिभुवन विमानस्थलको प्रमुख भन्सार प्रशासक अरुण पोखरेलले थप एकथान मोबाइल जफत नगरिएको दाबी गरेका छन् । पोखरेलले भने–‘थप एकथान मोबाइल जफत गरेका छैनौँ, भन्सार तिरेर लैजानु भनेका छौँ ।’
अर्थ मन्त्रालयले २०७७ जेठ १५ मा गरेको निर्णय अनुसार व्यक्तिगत प्रयोगको मोबाइल १ वटा सम्म ल्याउन पाइन्छ । त्यसभन्दा बढी मोबाइल ल्याएमा भन्सार महसुल लाग्छ । तर, भन्सारका कर्मचारीले थप मोबाइल जफत गर्ने गरेको गुनासो छ ।
प्रधानमन्त्रीले निर्देश गरेपछि २०७७ जेठ १५ मा जारी आदेश संशोधन नहुँदा समस्या भएको बताउँछन्, प्रमुख भन्सार प्रशासक पोखरेल । उनी भन्छन्–‘हामी २०७७ जेठ १५ मा जारी आदेशलाई फलो गरिरहेका छौँ, प्रधानमन्त्रीको निर्देशनपछि सो नियम संशोधनको चरणमा रहेका हुनाले अहिले सङ्क्रमणकालीन अवस्था छ ।’
दूरसञ्चार प्राधिकरणको आग्रहमा विदेशबाट फर्किने नेपालीले ल्याएको थप एकथान मोबाइलको भन्सारले प्रज्ञापन पत्र जारी गर्न थालेको थियो । तर, प्रधानमन्त्रीले ‘एमडीएमएस तत्काल लागु नगर्नु’ भनेपछि प्रज्ञापन पत्र दिन छाडेको प्रमुख भन्सार प्रशासक पोखरेलले बताए । उनले भने–‘दूरसञ्चार प्राधिकरणको आग्रहमा थप एकथान मोबाइलको प्रज्ञापन पत्र जारी गर्दै थियौँ, अहिले प्रज्ञापन पत्र दिन छाड्यौँ ।’
२०७८ मङ्सिर १२ मा विमानस्थल भन्सार कार्यालयले निकालेको सूचना अनुसार ५० ग्राम सम्म सुनका गहना भन्सार नतिरीकन ल्याउन पाइन्छ । ५० ग्राम भन्दा माथि थप २ सय ग्रामसम्मको सुनका गहनालाई भन्सार महसुल लिई जाँच पास गर्न सकिन्छ । सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा जफत हुने कानुनी व्यवस्था छ ।
व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन पाइन्छ । व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा सम्म भन्सार शुल्क नतिरी ल्याउन पाइन्छ । सोभन्दा बढी ल्याएमा भन्सार महसुल लाग्ने कानुनी व्यवस्था छ । व्यक्तिगत प्रयोगको मोबाइल फोन १ वटा सम्म ल्याउँदा भन्सार शुल्क लाग्दैन । एउटा भन्दा धेरै मोबाइल ल्याएमा भन्सार महसुल लाग्ने व्यवस्था रहेको भन्सार प्रशासक पोखरेलले बताए । मदिरा १ लिटरसम्मको एउटा बोतल ल्याउन पाइन्छ ।
सरकारले जारी गरेको झिटीगुन्टा आदेश अनुसार लुगाफाटा, बिछ्यौना र सुन सहित १२ प्रकारका सामान ल्याउने अधिकार विदेशबाट फर्किने नेपालीलाई छ । तर, मोबाइल फोनमा विकृति आएको प्रमुख भन्सार प्रशासक पोखरेलले बताए । उनी भन्छन्–‘प्रत्येक मानिसलाई १० हजार दिएर विदेशबाट मोबाइल बोकाएर पठाउने प्रवृत्ति छ ।’
मोबाइल कारोबार गर्नेहरूले भरिया बनाएर विदेशबाट फर्किने नेपालीहरूलाई पठाएर नेपाली बजारमा बेच्ने गरेका छन् ।