शंख घण्ट बजाउँदै राप्रपा र रवीन्द्र मिश्र पक्षको एकता
विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीबीच एकता भएको छ ।
बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत धु्रवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषण अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुनेछन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउनेछन् ।
त्यस्तै प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ ।
एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए ।
एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।
आफूलाई परम्परागत शक्ति भन्दै आएको राप्रपाले मिश्रलाई पृथ्वीनारायण शाहको तस्वीर ढोग्न लगाउँदै आफनो पार्टीमा भित्र्याएको छ । मिश्रले पृथ्वीनारायण शाहको तस्वीरमा ढोगेपछि एकता घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।