भदौमा साढे २ अर्बको बिजुली निर्यात, चार महिनामा ७ अर्ब आम्दानी
नेपालले चालु आर्थिक वर्ष (आव) २०७९/८० को दोस्रो महिना भदौमा २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी भदौमा २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।
प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्न थालेको थियो ।
सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ ।
प्राधिकरणले जेठ, असार, साउन र भदौसम्ममा ७८ करोड ७८ हजार युनिट विद्युत भारतीय बजारमा बिक्री गरी ७ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले ४ महिनाको अवधिमा विद्युत बिक्रीबाट ४ अर्ब ४९ करोड ९१ लाख भारु नेपाल भित्रिएको छ । भदौमा मात्र विद्युत बिक्रीबाट १ अर्ब ५१ करोड ५ लाख रुपैयाँ भारु आम्दानी भएको छ ।
हरेक महिना विद्युत निर्यात बढ्दा यसबाट प्राप्त हुने रकमबाट (भारु)नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘चालु आवमा विद्युत निर्यातबाट करिब १६ अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेका छौं, मंसिरको पहिलो हप्तासम्म विद्युत निर्यात गर्न सकिन्छ भने जेठपछि फेरि निर्यात सुरु हुँदा लक्ष्य पूरा हुने अनुमान गरेका छौं, कार्यकारी निर्देशक घिसिङले भने ।
‘अब चाडबाड पनि सुरु हुन लागेकोले उद्योग कलकारखाना बन्द हुँदा आन्तरिक खपत केही कम हुन्छ, तर हाम्रो उत्पादन भने पूर्ण क्षमतामा हुने हुँदा करिब २ सय मेगावाट थप विद्युत निर्यातको सहमतिका लागि प्रस्ताव पठाएका छौं, भारतीय पक्षबाट थप विद्युत निर्यातका लागि छिट्टै सहमति दिनेमा विश्वस्त छौं ।’
आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक-फरक हुने गरेको छ । प्राधिकरणले भदौमा निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट ९ रुपैयाँ ८० पैसा रहेको छ । चार महिनाको औसत दर प्रतियुनिट ९ रुपैयाँ २३ पैसा छ ।